काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सांगठनिक एकीकरणको प्रस्ताव तयार गर्ने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा हिजो बसेको बैठकले नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साङ्गठनिक एकीकरणसम्बन्धी प्रस्ताव अब बस्ने सचिवालय बैठकमा पेश गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बुधबार र बिहीबार बसेको सचिवालय बैठक एकीकरणसम्बन्धी विषयमा टुङ्गोमा पुग्न नसकेकाले मापदण्ड बनाउने जिम्मेवारी अध्यक्षद्वयलाई दिएको हो ।
अध्यक्षद्वयले प्रस्तुत गर्नुहुने प्रस्तावलाई स्थायी समितिको बैठकमा प्रस्तावका रुपमा लैजाने उहाँले बताउनभुयो ।
अध्यक्षद्वयले सचिवालय बैठकमा प्रस्तुत गर्ने प्रस्तावलाई स्थायी समितिमा पेश गरिनेछ ।
उक्त प्रस्ताव स्थायी कमिटीले स्वीकृत गरेसँगै साङ्गठनिक एकीकरणको प्रक्रिया अघि बढ्नेछ ।
बिहीबार अपरान्हसम्म ६ वटा प्रदेशले आ–आफ्नो प्रतिवेदन सचिवालयलाई बुझाइसकेका छन् ।
तर, प्रदेश २ ले भने हालसम्म पनि प्रतिवेदन बुझाउन सकेको छैन ।
नेतृत्व कसले लिने भन्ने विवाद बढेपछि विद्यार्थी, युवा, महिला र मजदुर संगठनले एकीकरणको प्रतिवेदन बुझाउन नसकेका हुन् ।









प्रतिक्रिया दिनुहोस्