१० असार २०८२, मंगलबार | Tue Jun 24 2025


प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफ्ना बाआमाका लागि खर्च गर्नुपर्छ : मन्त्री चौधरी


0
Shares

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले अब प्रत्येक व्यक्तिले आफ्नो कमाइको १० प्रतिशत आफूलाई जन्मदिने बाआमाका लागि खर्च गर्नुपर्ने बताउनुभएको छ ।

मंगलबार सुनसरीको गढी गाउँपालिका ६ सत्तरझोडामा आयोजित झुल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो ।

मन्त्री चौधरीले ज्येष्ठ नागरिकको सेवा गर्न पाउनु भनेको हामी सबैका लागि गर्वको विषय हो र त्यो हाम्रो जिम्मेवारी पनि हो । अब प्रत्येक व्यक्तिले कमाइको १० प्रतिशत आफ्नो बाआमाका लागि खर्च गर्नुपर्ने बताउनुभयो ।

ज्येष्ठ नागरिकको सुरक्षाका निम्ति यो काम गर्न आवश्यक रहेको मन्त्री चौधरीले बताउनुभयो । सबैभन्दा पहिले जनप्रतिनिधिबाट यो कार्यको सुरुआत गर्नुपर्ने भन्दै उहाँले बिस्तारै सबै क्षेत्रमा सुरु हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै अपंगता भएका व्यक्तिहरूको पक्षमा पनि यो काम अनिवार्य हुन जरुरी रहेको बताउनुभयो । त्यस्तै कतिपय अपांगता भएका व्यक्तिहरूको अवस्था एकदमै दयनीय रहेको भन्दै उहाँले पूर्ण अपांगता भएका व्यक्तिहरूको पक्षमा उसको परिवार पनि उत्तिकै जिम्मेवार हुनुपर्ने बताउनुभयो । राज्यले पनि ऐनमार्फत विभिन्न व्यवस्था गरेर अगाडि बढेको मन्त्री चौधरीले बताउनुभयो ।

मुलुकका हरेक वर्गहरूको पक्षमा सरकारले काम गर्ने बताउँदै मन्त्री चौधरीले महिला, ज्येष्ठ नागरिक, बालबालिका, अपांगता भएका व्यक्तिहरूको पक्षमा अत्यन्त मानवीय संवेदना जोडिएको क्षेत्रको जिम्मेवारीमा आफू रहेको भन्दै बताउनुभयो ।