१० बैशाख २०८१, सोमबार | Mon Apr 22 2024


मालवाहक रेल सेवाले निरन्तरता नपाउँदा विराटनगरका उद्योगीहरु निराश


169
Shares

काठमाडौं । भारतको बथनाहादेखि विराटनगर–१८ बुधनगरसम्म मालवाहक रेल सेवाले निरन्तरता पाउन नसकेपछि स्थानीय व्यापारीहरु निराश भएका छन् ।

नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा भर्चुअल माध्यमबाट उद्घाटन गरेपछि गत जेठ १८ मा एक पटक विराटनगर आइपुगेको कार्गो रेल सेवा फेरि फर्किएन ।

गत जेठ १८ गते बथनाहादेखि विराटनगरस्थित एकीकृत भन्सार जाँच बिन्दु (आइसिपी) मा निर्माण भएको रेल्वे कस्टम यार्डसम्म आठ किलोमिटर दूरीको रेल चलेपछि धेरैमा उत्साह छाएको थियो ।

भारतबाट औद्योगिक कच्चा पदार्थ बोकेको मालवाहक रेल विराटनगर आएपछि उत्साहित बनेका नेपाली उद्योगीहरू अहिले निराश छन् । त्यसबेला आरती स्ट्रिप्सको औद्योगिक कच्चा पदार्थ झारेर जेठ १९ गते भारत फर्किएको मालवाहक रेल फेरि फर्किएर नआएपछि उद्योगीमा निराशा छाएको हो ।

आयातको लागत न्यूनीकरण हुने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको नेपाल–भारत कार्गो रेल अहिले अलपत्र बनेको छ । नेपालले भारतसँग गरेको रुट सम्झौता बमोजिम सिमित मालसामान मात्र आयात गर्न पाएपछि रेल सञ्चालन अनिश्चित बनेको नेपाल उद्योग परिसंघ, कोशीका उद्योगी पवन सारडाले बताउनुभयो ।

सरकारले सबै प्रकारका तयारी मालसामान तथा औद्योगिक कच्चा पदार्थ आयातको अनुमति नदिएपछि कार्गोरेल पुनः सञ्चालनको सम्भावना घट्दै गएको छ । रेल सञ्चालनमा आउनुअघि दुवै देशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले सन्धि सम्झौतामा हस्ताक्षर गरेका थिए । सन्धिमा कोलकत्ता बन्दरगाहबाट विराटनगर भन्सारसम्म रासायनिक मल, पत्थर तथा कोइला, क्लिंकर र सिमेन्ट मात्र आयात गर्न पाउने विषय उल्लेख छ ।

नजिकको बन्दरगाहबाट सिमित मालवस्तु मात्र आयात गर्न दिने सरकारको त्रुटिपूर्ण सम्झौताकै कारण ‘मालवाहक रेल पुनः सञ्चालनमा आउन नसकेको उद्योगीहरू बताउँछन् । उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले कार्गोरेल पुनः सञ्चालनका लागि कोलकत्ताबाट सबै प्रकारका मालवस्तु आयातको अनुमति दिनुपर्ने बताउनु भयो ।

कार्गोरेल सञ्चालनमा नआउनुको अर्को मुख्य कारण लोडिङ–अनलोडिङको लागत हो । विराटनगर भन्सारमा कार्गो व्यवस्थापनको जिम्मा पाएको ट्रान्स नेपालको लोडिङ–अनलोडिङ चार्ज भारतको तुलनामा निकै महँगो रहेको उद्योगीको गुनासो छ । अहिले उद्योगीहरूले भारतबाट आयातित सामान भारतीय भन्सारमै अनलोड गरेर स्थलमार्र्गबाट आयात गर्दै आएका छन् । त्यसरी गरिएको आयात २०० रुपैयाँ प्रतिमेट्रिक टनले सस्तो परिरहेको उनीहरूको तर्क छ ।
यता बथनाहा–विराटनगर कार्गोरेल पुनः सञ्चालनको विषयमा भने आवश्यक पहल भइरहेको विराटनगर भन्सार कार्यालय जनाएको छ । कोलकत्ता बन्दरगाहबाट सबै प्रकारका मालसामान आयात गर्न पाउने व्यवस्था मिलाउन सरोकारवाला मन्त्रालयले भारतीय पक्षसँग समन्वय गरिरहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले बताउनु भयो ।

भारतले पछिल्लो समय बिशाखापटनम बन्दरगाहलाई विशेष महत्त्व दिएर कार्गोरेल सञ्चालन गरिरहेको छ । नेपालले पनि विशाखापटनम बन्दरगाह नै प्रयोग गरोस् भन्ने भारतको चाहना छ । तर विशाखापटनमबाट गरिने आयात कोलकत्ताको तुलनामा लागतको दृष्टिकोणले निकै खर्चिलो पर्ने भएकाले उद्योगीहरू त्यसका लागि तयार नदेखिएका हुन् ।