Logo १६ फाल्गुन २०८२, शनिबार | Sat Feb 28 2026


कांग्रेस नेतृत्वको सरकार निर्माणमा विलम्व गर्नुहुँदैन : सांसद शर्मा


949
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद सुनिलकुमार शर्माले आफ्नो पार्टी नेतृत्वको सरकार निर्माण गर्ने काममा विलम्व गर्न नहुने बताउनुभएको छ ।

पार्टीको फागुन ७ गतेदेखि सुरु हुने महासमिति बैठकका आफूले छुट्टै पेश गर्ने प्रस्ताव शनिबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।

वर्तमान अप्राकृतिक गठबन्धनका कारण नेपाली काँग्रेस जनताप्रतिको जिम्मेवारीबाट विमुख भएको प्रश्न उठिरहेको दाबी गर्दै सांसद शर्माले पार्टीको रुपान्तरण र आफू नेतृत्वको जनमुखि सरकार निर्माण गरी जनताको भरोसायोग्य पार्टी निर्माण गर्नुपर्ने आफ्नो प्रश्ताव रहेको पनि स्पष्ट पार्नुभयो ।

भ्रष्टाचार र कुशासनले थिलोथिलो भएको राज्य संयन्त्र र सीमित व्यक्तिको कब्जामा रहने पार्टी प्रणाली र सरकार निर्माणको ढाँचा र मुलुकको वर्तमानका यावत समस्याका सम्बन्धमा नेपाली कांग्रेस कानमा तेल हालेर बस्न नमिल्ने उहाँको भनाई थियो । सांसद शर्माले लोकप्रियतावादीहरु र अतिवादीहरु नेपाली कांग्रेसका मुख्य चुनौति रहेको भन्दै जनप्रिय, जनताको भरोसायोग्य पार्टी बनाउने र आफ्नो नेतृत्वको जनमुखि सरकार निर्माण गर्ने कुरामा विलम्व गर्न नहुने बताउनुभयो ।

सांसद शर्माले वर्तमान गठबन्धनको अन्त्य गरी सरकार निर्माणको ढाँचा बदल्ने कुरामा कांग्रेसले बेवास्ता गर्न नमिल्ने जिकिर पनि गर्नुभयो ।