सरोज अधिकारी/सुवर्ण श्रेष्ठ (इमेज)
हेटौंडा, असार ५ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले विधान संशोधन र संघीय संरचनाअनुसारको पार्टी संगठन निर्माणलाई प्रमुख मुद्दा बनाउने तयारी गरेका छन् ।
हेटौंडामा सुरु भएको जिल्ला सभापतिहरुको भेलाकाक्रममा बुधबार हुने बन्दसत्रमा जिल्लाका सभापतिहरुले संगठन सुदृढीकरणको विषय पनि प्राथमिकताका साथ उठाउने तयारी गरेका छन् ।
मंगलबारदेखि हेटौंडामा सुरु भएको कांग्रेसका जिल्ला सभापतिहरुको भेलामा ७७ ओटै जिल्लाका सभापति, केन्द्रीय सदस्य तथा पदाधिकारी सहभागी छन् ।
मुलुक संघीयतामा गइसकेपछि पनि कांग्रेसले आफ्ना संगठनलाई सोही ढाँचामा परिवर्तन गर्न सकेको छैन । त्यसैगरी, कांग्रेसको नेतृत्व विभिन्न गुट–उपगुटमा विभाजित अवस्थामा छ । नेतृत्वकै कारण तत्लो तहमा पनि गुट–उपगुट विस्तार हुँदै गएका छन् ।
एक वर्षभित्रै भएका तीनओटा निर्वाचनमा पराजित भएपछि कांग्रेसभित्रको असन्तुष्टि झन् चर्कंदै गएको छ ।
सभापति शेरबहादुर देउवाइतरको समूह निर्वाचनमा पराजयको दोष सभापतिलाई नै दिइरहेको छ । तर, देउवापक्षीय नेताहरुले त्यसको दोष सभापतिकोमात्र नभएको भन्दै अर्को समूहको कडा आलोचना गर्दै आएका छन् ।
दुई समूहबीचको अन्तरद्वन्द्व जिल्ला सभापतिहरुको भेलामा देखिएको छ । जिल्ला सभापतिहरुले पार्टी नेतृत्वमा देखिएको गुट–उपगुटलाई सधैंका लागि तिलाञ्जली दिँदै नेतृत्व सुधारिनुपर्ने पक्षमा वकालत गरिरहेका छन् ।
बुधबार हुने बन्दसत्रमा नेतृत्वलाई सुधारिन दबाब थप दिने तयारी आफूहरुले गरिरहेको बताउँछन्, नेपाली कांग्रेस धादिङका सभापति रमेश धमला ।
संगठन निर्माण, संघीय व्यवस्थामा सांगठनिक संरचना र समसामयिक राजनीतिक सन्दर्भमा कांग्रेसको भूमिकाबारे छलफल गर्न भेला बोलाइएको भएपनि जिल्ला सभापतिहरुले नेतृत्वलाई मिल्न दबाब दिने रणनीति बनाइरहेका छन् ।
प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा दोस्रो शक्तिमा खुम्चिएको कांग्रेसले भेलापछि राष्ट्रिय जागरण अभियान चलाउनेलगायतका निर्णय गर्ने अपेक्षा गरिएको छ ।
तर, संस्थापनइतर पक्षले महासमिति बैठक, नयाँ संरचनाअनुसारको अधिवेशनलगायतका विषय उठाइरहेका छन् ।
मकवानपुर जिल्ला सभापति इन्द्र बानियाँले विधान संशोधन, तल्लो तहका अधिवेशन तत्काल सुरु गर्न र स्थानीय तहका पार्टी संरचनालाई बलियो बनाउने विषयमा बन्दसत्रमा व्यापक छलफल हुने बताए ।
जिल्ला सभापतिहरुको भेलाले कांग्रेसलाई नयाँ रणनीतिअनुरुप अघि बढाउन सहयोग पुग्ने अपेक्षा तत्लो तहका कार्यकर्ताको छ ।
तर, जिल्ला सभापतिहरुको भेलामा देखिएको अन्तरद्वन्द्व महासमितिको बैठकसम्म जाने संकेत देखिँदा कांग्रेसका शुभचिन्तक भने थप चिन्तित बनेका छन् ।
प्रतिक्रिया दिनुहोस्