२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024


कानून बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन : उपसभामुख राना


130
Shares

काठमाडौं । उपसभामुख इन्दिरा रानामगरले सोच र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानून बनाएर मात्रै महिला हिंसा अन्त्य नहुने बताउनुभएको छ ।

‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ नाराका साथ ‘नीति तथा संस्थागत संरचनाको विश्लेषण’ विषयमा आधारित लैङ्गिक हिंसा सम्बोधनका लागि राष्ट्रिय सम्मेलनमा उपसभामुख रानामगरले महिला हिंसासम्बन्धी कानून बनेका भएपनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन नसकेका बताउनुभयो ।

उहाँले हिंसा अन्त्यका लागि सोच, व्यवहार र मानसिकतामा परिवर्तन आउनुपर्ने बताउनुभयो ।

“सोच, व्यवहार र मानसिकतामा परिवर्तन ल्याउन नसकेसम्म कानुन बनाएर मात्रै महिला हिंसा अन्त्य हुँदैन । बनेका र भएका महिला हिंसासम्बन्धी कानुन पनि प्रभावकारीरुपमा कार्यान्वयनमा आउन सकेका छैनन् । समाज हिंसामुक्त हुन सकेको छैन । बालबालिकासम्बन्धी पनि पर्याप्त कानुन बनेका छैनन् । हरेक समस्यामा महिलाले लड्नु भिड्नुपर्ने अवस्था छ । हरेक पल काम गरेर प्रमाणित गर्नुपर्छ”, उपसभामुख रानामगरले भन्नुभयो ।

महिला नेतृत्वमा नपुगेसम्म हिंसा अन्त्य हुँदैन भन्दै घरबाट नै महिला हिंसा अन्त्य हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उपसभामुख रानामगरले भवन र टावर बन्दैमा विकास भयो भन्न नमिल्ने उल्लेख गर्दै महिलाको डिजिटल प्रविधिमा पहुँच पुर्याउन सबैको साथ चाहिने बताउनुभयो । महिलाले उत्पादन गरेका सामाग्रीको उचित मूल्य पाउने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै उहाँले महिलाको क्षमता अभिवृद्धिका लागि सरकारले लगानी गर्नुपर्छ भन्नुभयो ।

महिला अधिकारका लागि राष्ट्रिय अभियानकी अध्यक्ष सरिता घिमिरेका अनुसार सम्मेलनमा ४२ जिल्लाका महिलाको प्रतिनिधित्व छ । २०६२ देखि सञ्चालित उक्त संस्थामा हाल ५० हजार महिला आबद्ध छन् ।