
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले एनसेलको शेयर खरिद बिक्री प्रकरणमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको छ ।
शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष यादवले एनसेलको शेयर खरिद बिक्रीमा राजनीतिक र प्रशासनिक नेतृत्वको स्वार्थ जोडिएको बताउनुभएको हो । उहाँले विगतमा पनि सरकारले एनसेलले अरबौँ रुपैयाँ कर मिनाहा गरेको कुरा आएपनि त्यसप्रति कसैको चासो नभएको भन्दै उहाँले यस प्रकरणमा आवश्यक छानविन गर्नुपर्ने बताउनुभयो ।
अध्यक्ष यादवले देशमा सुशासनको अवस्था अत्यन्त नाजुक भएको बताउनुभयो । उहाँले आफ्नो जीवनकालमा अहिलेजस्तो सुशासनको अवस्था बिग्रिएको कहिल्यै नदेखेको बताउनुभयो ।
अध्यक्ष यादवले नेपाली सेनालाई सडक निर्माण गर्न, व्यापार गर्न र ठेक्कापट्टा लगायतका कामहरु गर्न दिने कि नदिने भन्ने विषय नीतिगत रुपमा स्पष्ट हुनुपर्ने बताउनुभयो । उहाँले यस्ता कामहरुमा सेनालाई नलगाई पेशागत काम मात्रै गर्न लगाउनुपर्ने धारणा व्यक्त गर्नुभयो । त्यस्तै, अध्यक्ष यादवले प्रहरी र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकारको अवस्था बेहाल भएको पनि उहाँले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्