१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


सुनकोशी–मरिण डाइभर्सनको काम जारी


0
Shares

सिन्धुली । सिन्धुली जिल्लामा संचालित राष्ट्रिय गौरवको आयोजना सुनकोशी–मरिण डाइभर्सन बहुउदेश्यीय आयोजनाको कार्य नेपालीहरुको मुख्य चाडपर्वमा समेत भइरहेको छ ।

सुनकोशी–मरिण डाईभर्सन आयोजनाको कुल १३ दशमलव ३ किलोमिटर सुरुङमध्ये टनेल वोरिङ मेसिन टिविएम संचालन भएको कुल १४ महिनाको अवधिमा करिव ९ दशमलव ७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको हो ।

आयोजनाअन्तर्गत सुरुङ्ग निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज ईन्जिनियरिङ्ग कम्पनी कोवेकले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ भने बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ ।

सुनकोशी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेकोमध्धे चालु आर्थिक वर्षसम्म करिब ११ अरव खर्च भइसकेको जनाएको छ ।

सुरुङ्ग निर्माण संगसंगै आयोजनाको सुनकोशी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ भने र ३१ मेगावाट विद्युत उत्पादनका निम्ति आवश्यक पुर्वाधार निर्माणका कार्यहरु सञ्चालन हुन थालेका छन् ।

राष्ट्रकै बहुचर्चित राष्ट्रिय गौरवको आयोजना सुनकोशी– मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माण र संचालनले मधेश प्रदेशका आधा दर्जन जिल्लाका कृषि क्षेत्रमा संवृिद्ध हुने अपेक्षा गरिएको छ ।

सुनकोशी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानीलाई उक्त नदीमा बाँध बाधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीको किनारमा पु¥याइ उपलव्ध ६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत उत्पादन गरी निस्केको पानी मरिण खोलामा खसाली बागमती नदी हुँदै बागमती सिँंचाइ योजनाको पुर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६,६०० हक्टर र ४५,४०० हेक्टर गरी जम्मा १,२२,००० हेक्टर जमिनमा वर्षैभरी सिँचाइ सुविधा पु¥याउने लक्ष्य लिइएको छ ।

उक्त आयोजनाअन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलोमिटरमाथि सुनकोशी नदीमा १५८ मिटर लामो व्यारेज, १५० मिटर लामो डिसेण्डिङ्ग बेसिन,टनेल इण्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमिलामो सुरुङ,सर्ज पण्ड स्विच यार्ड,३१ मेगावाट क्षमताको विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रशारण लाइन निर्माण गरिने छ ।

सुनकोशी मरिण डाइभर्सन आयोजना सुनकोशी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ ।