१८ आश्विन २०८१, शुक्रबार | Fri Oct 4 2024


नेपाललाई इतिहास रच्ने अवसर


0
Shares

कुमार चौलागाइँ (रासस) 

काठमाडौं, भदौ २६ । साफ च्याम्पियनसिपअन्तर्गत् पहिलो सेमिफाइलनमा नेपालले बुधबार दिउँसो ३ः४५ बजे ढाकास्थित बंगबन्धु रंगशालामा माल्दिभ्सविरुद्ध खेल्दैछ ।

२५ वर्षे साफ च्याम्पियनसिपको इतिहासमा बुधबार हुने सेमिफाइनल नेपालका लागि इतिहास रच्ने अवसर हो ।

अहिलेसम्म सेमिफाइनलभन्दामाथि नपुगेको नेपाल माल्दिभ्सलाई पराजित गर्नसके साफ च्याम्पियनसिपमा नयाँ इतिहास कायम गर्न सफल हुनेछ ।

पाँचौंपटक सेमिफाइनल खेल्न लागेको नेपाली टोलीका लागि माल्दिभ्स केही कमजोर प्रतिद्वन्द्वी देखिएको छ ।

यसअघि, सन् १९९५, सन् १९९९, सन् २०११ र २०१३ मा नेपाल सेमिफाइनलसम्म पुगेको थियो ।

समूह चरणमा दुई खेल खेलेको माल्दिभ्स एकमा पराजित र एकमा बराबरी गर्दै सेमिफाइनल पुगेको हो । नेपाल भने एक खेलमा पराजित र दुई खेलमा विजयी हुँदै सेमिफाइल पुगेको हो ।

पहिलो सेमिफाइनलमा प्रतिस्पर्धाका लागि मैदान उत्रँदै गर्दा दुवै टोलीको लक्ष्य फाइनल पुग्नु रहनेछ ।

नेपालले साफ च्याम्पियनसिपमा माल्दिभ्सलाई अहिलेसम्म पराजित भने गर्न सकेको छैन ।

साफ च्याम्पियनसिपमा नेपाल र माल्दिभ्स अहिलेसम्म ६ पटक खेलेका छन् । जसमा चार खेल माल्दिभ्सले जितेको छ भने दुई खेल बराबरीमा सकिएको थियो ।

नेपालले साफमा माल्दिभ्सविरुद्ध सात गोल गर्दा १४ गोल खाएको छ ।

साफ च्याम्पियनसिपको सन् २००९ र २०११ को संस्करणमा बराबरी गर्न सफल नेपाल त्यसअघि भएका संस्करणमा भने पराजित भएको थियो ।

नेपाल बुधबार हुने सेमिफाइनल जित्दै माल्दिभ्सविरुद्धको जितविहीन यात्राको अन्त्य गर्ने लक्ष्यमा हुनेछ ।

‘धेरै वर्षपछि हामी सेमिफाइनलमा पुगेका छौं । अब माल्दिभ्ससँग खेल्नुपर्नेछ । माल्दिभ्स राम्रो टोली हो । उनीहरूलाई कमजोर मान्नुहुन्न’–मंगलबार बिहान ढाकामा सन्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै नेपाली राष्ट्रिय टोलीका कार्यवाहक मुख्य प्रशिक्षक बालगोपाल महर्जनले भने ।

नेपालले ढाकामामात्र माल्दिभ्सविरुद्ध चार खेल खेलेको छ । जसमा नेपालले एक जित, दुईमा बराबरी र एकमा हार बेहोरेको छ ।

माल्दिभ्सविरुद्ध नेपालका पूर्वस्ट्राइकर हरि खड्काले सर्वाधिक चार गोल गरेका छन् । यस्तै, नवयुग श्रेष्ठको नाममा तीन गोल छ ।

नेपालले माल्दिभ्ससँग खेलेको पछिल्लो खेल सन् २०१६ को बंगबन्धु गोल्डकप हो । उक्त खेलमा नेपालले माल्दिभ्सलाई ४–१ ले हराएको थियो ।

दोस्रो सेमिफाइलनमा भारत–पाकिस्तान भिड्ने

बुधबारै साँझ हुने दोस्रो सेमिफाइनलमा भारत र पाकिस्तान प्रतिस्पर्धा गर्नेछन् ।

सेमिफाइनलमा पुगेका चारमध्ये भारतले सर्वाधिक सातपटक तथा माल्दिभ्सले एकपटक साफ च्याम्पियनसिपको उपाधि जितिसकेका छन् ।

नेपाल र पाकिस्तान भने अहिलेसम्म सेमिफाइनलभन्दामाथि पुग्न सकेका छैनन् ।

पाकिस्तान १३ वर्षपछि तथा नेपाल पाँच वर्षपछि अन्तिम चारमा पुगेका हुन् ।