१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


कर्णाली प्रदेश सरकारले उद्धार कार्य तीव्र बनाउने


0
Shares

काठमाडौं । कर्णाली प्रदेश सरकारले भूकम्प प्रभावित क्षेत्रमा उद्धार कार्य तीव्र बनाउने निर्णय गरेको छ ।

शनिवार बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उद्धार तथा राहतका लागि सबै निकायसँग सहकार्य गर्ने तथा सहयोगका लागि आह्वान गर्ने निर्णयसमेत गरेको छ ।

प्रदेश सरकारसँग उपलब्ध भएका राहत सामग्री तत्काल पठाउने र नपुगेको खरिद गर्ने निर्णय भएको कर्णाली प्रदेश सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिनुभयो ।

उहाँले उद्धारका लागि सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको र आवश्यकता अनुसार बजेट खर्च गरेर शोधभर्ना गर्नेगरि बजेट खर्चको व्यवस्था मिलाइएको बताउनुभयो ।

प्रदेश सरकारले नेपाली सेनासँग समन्वय गरी सुर्खेतमा रहेको हेलिकप्टरमार्फत चिकित्सक पठाउने र बिरामी ल्याउने काम भइरहेको मन्त्री जिसीले जानकारी दिनुभयो । मन्त्री जिसीले घाइतेहरुको उपचारमा कुनै कसर बाँकी नराख्न सरकारले सम्बन्धित निकायलाई निर्देशन दिएको पनि जानकारी दिनुभयो ।