Logo ७ चैत्र २०८२, शनिबार | Sat Mar 21 2026


प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द

एमसिसी परियोजना

533
Shares

काठमाडौं । बहुचर्चित अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) परियोजनाअन्तर्गत प्रसारण लाइन निर्माण ठेक्का प्रक्रिया रद्द गरिएको छ।

परियोजनाअन्तर्गत ३ सय १५ डबल सर्किट किलोमिटर प्रसारण लाइन निर्माणका लागि २२ करोड ६ लाख अमेरिकी डलर अनुमान गरिएको थियो। तर, ठेकेदार कम्पनीहरूले लागत अनुमानभन्दा ६६ प्रतिशत बढी (१४ करोड ५३ लाख ४८ हजार डलर) को प्रस्ताव पेस गरेसँगै ठेक्का प्रक्रिया रद्द गरिएको हो।

मिलेनियन च्यालेन्ज कर्पोरेसनकै सहमतिमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले शुक्रबार सूचना गरी गर्दै प्रसारण लाइनसँग सम्बन्धित सबै ठेक्का प्रक्रिया रद्द गरिएको जानकारी गराएको छ।

निर्माण कम्पनीबाट समग्रमा अनुमानितभन्दा ६६ प्रतिशत बढी लागत प्रस्ताव पेस भएपछि त्यसलाई रद्द गर्नुपर्ने आवाज आइरहेको थियो। एमसिए नेपालले अनुमानित लागतभन्दा निकै बढी प्रस्ताव पेस भएसँगै ठेक्का प्रक्रिया रद्द गर्ने निर्णय गरिएको जनाएको छ।

एमसिए नेपालका सूचना अधिकारी राजीव दाहालले सार्वजनिक सूचना जारी गरेर प्रसारण लाइनतर्फको ठेक्का रद्द गरिएको बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।