काठमाडौं । नजिकिँदै गरेको दशैं, तिहार र छठ लगायत चाडपर्वलाई लक्षित गर्दे राजधानीमा हुने विभिन्न अपराध नियन्त्रण गर्न प्रहरीले २१ गतेबाट विशेष सुरक्षा योजना लागू गरेको छ ।
उपत्यका प्रहरी कार्यालयले यहि असोज २१ गतेदेखि चाडपर्व लक्षित सुरक्षा योजना लागू गरेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा उपत्यका प्रहरी कार्यालयले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना’ लागू गरेको हो । उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले योजनामा प्रहरीले गर्नुपर्ने ड्युटीमा प्रहरीले प्रयोग गर्ने सवारी र खटिनेहरू प्रहरी पोशाकमा ५ हजार ८३३ र १८ सय ट्राफिक प्रहरी गरि ७ हजार ६३३ संख्या रहेको बताउनुभयो ।
प्रहरीले गर्ने ड्युटी अन्तर्गत भिडभाड हुने क्षेत्रभित्र पैदल गस्ती विभिन्न स्थानबाट एम्बुसीङमा चेकिङ, तालिम प्राप्त कुकुरसहित प्रहरी परिचालित हुने छन् ।
त्यस्तै, दुई वटा बसपार्क क्षेत्रमा यात्रु सहायकता कक्ष निर्माण, त्यस्तै धार्मिक तथा पर्यटकीय स्थलको सुरक्षाका लागि मुख्य सडकमा साना हतियारसहित सादा पोशामा प्रहरी तथा मोटरसाइकल गस्तीका प्रहरी कर्मचारीहरू परिचालन गरिने प्रवक्ता मैनालीले जानकारी दिनुभयो ।
चाडपर्वको बेलामा यात्रुहरुको चहलपहल बढ्ने र यात्रुको चाप लगायतका कारण सवारी साधनले क्षमता भन्दा बढी यात्रु बोक्दा दुर्घटनाको जोखिम हुने, आफन्तको घर वा अन्यत्र कतै गएको बेलामा घरमा चोरी हुन सक्ने, सवारीमा अधिकार हनन हुनुका साथै दुर्व्यवहार हुन सक्ने जोखिम हुने भएकाले चाडपर्वका लागि सुरक्षा योजना बनाइएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
विशेष गरेर सहरी क्षेत्रलाई लक्षित गरेर प्रहरी परिचालन गरिएको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । प्रवक्ता मैनालीका अनुसार दिउँसो र राती दुवै समयमा प्रहरी परिचालन गरिनेछ । यस वर्ष पनि चोरी हुने सम्भावीत ठाउँ औंल्याउँदै सो कार्यहरु रोक्नका लागि प्रहरी खटाइने उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।
बढी भाडा असुली गर्ने, व्यक्ति वा वित्तीय संस्थामा हुन सक्ने लुटपाट, जुवा तास तथा अवैध मदिरा, व्यस्त स्थानमा हुन सक्ने अवाञ्चिछत गतिविधि, जघन्य प्रकृतिका अपराध, पटका, भुईँ चम्पा तथा अतीसबाजीलगायतका अपराध र क्रियाकलापमाथि प्रहरीको निगरानी रहने छ ।
उपत्यका प्रहरीले राजधानी भित्रिने र बाहिरिने मुख्यमुख्य नाकाहरु, मुख्य मुख्य सडक तथा भीडभाड हुने बजार क्षेत्रहरुमा बाक्लो मात्रामा प्रहरी परिचालन गर्ने जनाएको छ । त्यस्तै, बैंक, वित्तिय संस्था, बिजनेस कम्प्लेक्स, डिपार्टमेन्टल स्टोर्स, सुन पसललगायतमापनि प्रहरी परिचालन गरेर निगरानी बढाइने भएको छ ।
प्रहरीले चाडपर्वमा हुन सक्ने होहल्ला, हुलहुज्जत र लफडा नियन्त्रणका लागिपनि छुट्टै फोर्स परिचालन गर्ने भएको छ । विशेष टास्क फोर्स बनाएर प्रहरी परिचालन गरिने प्रवक्ता मैनालिले बताउनुभयो । उहाँका अनुसार मापसे र लागूऔषध नियन्त्रणलाई पनि प्रभावकारी रुपमा नियन्त्रण गर्न प्रहरी परिचालन गरिने छ । जसका लागि नाकाहरुमा चेकिङ र सादा पोषाकका प्रहरी परिचालन गरिने भएको छ ।
प्रतिक्रिया दिनुहोस्