१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


‘चाडपर्वका बेला जनतालाई सास्ती नदिन सरकार चनाखो हुनुपर्छ’


52
Shares

काठमाडौं । सांसदहरुले दशैँलगायतका चाडपर्वमा कालोबजारी हुने गरेको भन्दै त्यसलाई चनाखो भएर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

दशैँलगायतका चाडपर्व नजिक आइरहेका बेला आईतबार बसेको प्रतिनिधि सभा बैठकमा सांसदहरुले दुर्गम क्षेत्रमा नागरिकलाई सहज र सुलभ मूल्यमा चामललगायतका खाद्यबस्तुको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग समेत गरे ।

बैठकमा बोल्दै सांसद विना लामाले चाडबाडमा मात्रै चामल खाने दुर्गम क्षेत्रका नागरिकका लागि सरकारले सस्तोमा गुणस्तरीय खाद्य वस्तुहरु उपलब्ध गराउनुपर्ने बताउनुभयो । उहाँले न्युन आयस्रोत भएका जनताले उपभोग गर्न नसक्ने गरी मूल्य वृद्धि बढेकाले त्यस्ता व्यापारीलाई तत्काल कारबाहीको दायरामा ल्याउन पनि सरकारलाई दबाब दिनुभयो ।

सांसद विनिताकुमारी सिंहले चाडपर्वका बेला कालोबजारी गर्ने जस्ता अपराधिक गतिविधि हुने गरेको भन्दै त्यसलाई समयमै रोक्न सरकारसँग माग गर्नुभयो । उहाँले विषाधि चेकजाँच गरेर मात्रै खाद्य वस्तुहरुलाई बिक्री वितरण गर्ने व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गर्नुभयो ।

सांसद विजुला रायमाझीले चाडबाडका बेला सवारी दुर्घटना अधिक हुने गरेको उल्लेख गर्दै त्यसो हुन नदिन सरकारले विशेष ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले गुणस्तरहिन खाद्य वस्तुको बिक्रीवितरण हुन नदिनका लागि पनि सरकारलाई सचेत गराउनुभयो ।

सांसद रायमाझीले चाडपर्वका बेला जनतालाई मारमा पार्ने खालका कुनैपनि गतिविधि हुन नदिन सरकार चनासो हुनुपर्ने बताउनुभयो ।