कालिका खड्का (रासस)
काठमाडौं, भदौ २५ । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई पद तथा गोपनीयताको शपथ गराएकी छन् ।
सोमबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, सर्वोच्च अदालत र उच्च अदालतका न्यायाधीश, सरकारका सचिव तथा उच्चपदस्थ कर्मचारीको उपस्थिति थियो ।
संवैधानिक परिषदको सिफारिसमा मिश्रको नाम सोमबारै संसदीय सुनुवाइ समितिले सर्वसम्मतरुपमा अनुमोदन गरेको थियो ।
समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीशलाई नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।
कामु प्रधानन्यायाधीश मिश्रलाई यही भदौ ७ गते बसेको संवैधानिक परिषदको बैठकले प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो ।
उनले सोमबार साँझ नै पदबहाली गर्ने जनाइएको छ ।
यस्तो छ प्रधानन्यायाधीशसम्मको यात्रा
कानुन मन्त्रालयको शाखा अधिकृतकारुपमा न्याय सेवामा प्रवेश गरेका मिश्रलाई सोमबारदेखि २८औं प्रधानन्यायाधीशकारुपमा न्यायालयको सर्वोच्च स्थानमा रहेर कार्यसम्पादन गर्ने अवसर प्राप्त भएको छ ।
रुपन्देही जिल्ला रायपुरमा वि.सं. २०१० पुस २८ गते पिता महेशदत्त र माता अन्नपूर्ण मिश्रको सन्तानकारुपमा जन्मिएका ओमप्रकाश मिश्रले वि.सं. २०३८ जेठ ३० गते तत्कालीन कानुन तथा न्याय मन्त्रालयमा शाखा अधिकृतबाट सेवा सुरु गरेका हुन् ।
त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक, राजनीतिकशास्त्रमा स्नातकोत्तर र भारत, नयाँदिल्ली विश्वविद्यालयबाट कानुनमा स्नातकोत्तर मिश्रले कानुन मन्त्रालयमा शाखा अधिकृतकारुपमा काम गर्दागर्दै २०४२ साल कात्तिक ११ देखि मध्यपश्चिमाञ्चल क्षेत्रीय अदालतमा जगेडा जिल्ला न्यायाधीशकारुपमा काम सुरु गरे ।
त्यसैगरी, उनले जाजरकोट, प्यूठान, कैलाली, मोरङ र काठमाडौंमा जिल्ला न्यायाधीशकारुपमा क्रियाशील भएर काम गरे ।
मिश्रले वि.सं. २०६२ चैत १० गतेदेखि पुनरावेदन अदालत विराटनगरको न्यायाधीशकारुपमा काम सुरु गरी विशेष अदालत हुँदै २०६९ पुस २६ गतेदेखि तत्कालीन पुनरावेदन अदालत राजविराजका मुख्य न्यायाधीशकारुपमा काम गरे ।
वातावरण र भ्रष्टाचार मुद्दामा छवि
वि.सं. २०७१ जेठ १३ गतेदेखि सर्वोच्च अदालतको न्यायाधीशकारुपमा काम सुरु गरेका मिश्रले वातावरण, भ्रष्टाचारलगायत मुद्दामा राम्रो फैसला गर्ने न्यायाधीशको छवि बनाएका छन् । मिश्रको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय न्यायिक अनुभव पनि छ ।
नवनियुक्त प्रधानन्यायाधीश मिश्रले जापान र दक्षिण कोरियामा पुगेर मेलमिलाप पद्धतिको थप विकास र परिमार्जनसम्बन्धी अध्ययन गरेका छन् ।
सूचना–प्रविधिलाई थप प्रभावकारी बनाउन उनले चीनको अदालतको अभ्यासको अध्ययन गरेका छन् ।
त्यसैगरी, न्यायपालिकाको योजना, अभ्यास र प्रक्रियाका सम्बन्धमा फ्रान्स, जर्मनी, बेलायत, बेल्जियम र अमेरिकामा उनले अध्ययन भ्रमण गरेका छन् ।
उनले मुद्दा व्यवस्थापन र मेलमिलाप सम्बन्धमा जापान र न्याय प्रणाली एवं न्यायपालिकासम्बन्धी अध्ययनमा अष्ट्रेलिया, श्रीलंका र फिलिपिन्सको अध्ययन भ्रमण गरेका छन् ।
मिश्रले कामु प्रधानन्यायाधीशकारुपमा गत साउन २० गतेदेखि काम सुरु गरेका हुन् ।
प्रधानन्यायाधीशकारुपमा उनले पाँच महिना काम गर्नेछन् । आगामी पुस १८ गते सर्वोच्च अदालतको न्यायाधीशको ६५ वर्षे उमेर हदका कारण उनले अवकाश लिनेछन् ।
उनको अवकाशपछि वरिष्ठतम् न्यायाधीशका हैसियतले न्यायाधीश चोलेन्द्रशम्शेर जबराको हातमा न्यायालयको जिम्मेवारी आउनेछ ।
प्रतिक्रिया दिनुहोस्