
काठमाडौं । १९औं एसियाली खेलकुद अन्तर्गत महिला भलिबलमा नेपाल भियतनामसँग पराजित भएको छ ।
देकिङ स्पोर्ट्स सेन्टर जिम्न्यासियममा शनिबार भएको खेलमा भियतनामले नेपाललाई २५–४, २५–१६ र २५–१३ को सोझो सेटमा हराएको हो ।
पहिलो सेटमा भियतनामले ७ अंक जोडेपछि मात्र नेपालले पहिलो अंक जोडेको थियो । दोस्रो सेटमा नेपालले केही सुधारिएको प्रदर्शन गरेपनि भियतनामलाई रोक्न सकेन । तेस्रो सेटमा नेपालले सुरुमै लगातार ३ अंक जोड्दै अग्रता लिएपनि लय कायम राख्न सकेन ।
त्यसपछि भियतनामले लगातार ७ अंक जोड्दै नेपाललाई पछि पारेको थियो । पहिलो पटक एसियाड खेलेको नेपाली महिला भलिबल टोलीले डेब्यु खेलमा भियतनामविरुद्ध कमजोर प्रदर्शन गर्दा सहजै पराजित भएको हो ।
नेपाली महिला टोलीले खेलेको यो नै अहिलेसम्मको सबैभन्दा ठूलो प्रतियोगिता हो ।
प्रतिक्रिया दिनुहोस्