१० फाल्गुन २०८०, बिहिबार | Thu Feb 22 2024


धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको माओवादी केन्द्रको निष्कर्ष


416
Shares

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै यसप्रति सचेत हुनुपर्ने निष्कर्ष निकालेको छ ।

बिहीबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाँमा बसेको पार्टीको पदाधिकारी बैठकले देशमा धार्मिक तथा साम्प्रदायिक सद्भाव खल्बलिन लागेको भन्दै सचेत हुनुपर्ने निष्कर्ष निकालेको हो ।

पार्टी बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले देशका विभिन्न भागमा देखा परेको धार्मिक तथा साम्प्रदायिकता खल्बल्लिने गतिविधिको सम्बन्धमा बैठकमा छलफल भएको बताउनुभयो ।

प्रवक्ता सापकोटाले देशमा अराजकताको संकेतहरु देखापरेका भन्दै त्यसलाई गम्भिरतापूर्वक लिएर समाधान गर्न पहलकदमी लिनुपर्ने निष्कर्ष निकालिएको बताउनुभयो । उहाँले देशमा सामाजिक सद्भाव कायम गर्न सबैले गम्भिरतापूर्वक लाग्नुपर्नेमा बैठकले जोड दिएको बताउनुभयो ।

त्यस्तै, आन्दोलनरत राहत शिक्षकहरुसँग सम्वाद गरी समस्याको समाधान गर्नुपर्ने विषयमा पनि बैठकमा छलफल भएको उहाँले बताउनुभयो । प्रवक्ता सापकोटाले संसदमा दर्ता भएको विद्यालय शिक्षा विधेयकलाई सरोकारवाला पक्षहरुसँग छलफल गरेर निष्कर्षमा पुर्‍याउनुपर्ने पनि बैठकको निष्कर्ष रहेको उहाँले बताउनुभयो ।

प्रवक्ता सापकोटाले सरकारले सुशासनको क्षेत्रमा र भ्रष्टाचार नियन्त्रणमा पहलकदमी लिइरहेको भन्दै सरकारलाई साथ दिन सबैमा अपील गर्नुभयो ।