
काठमाडौं । १९औं एशियाली खेलकूद अन्तर्गत आज भएका बक्सिङ र पौडीमा नेपाली खेलाडीहरुले निराशाजनक प्रदर्शन गरेका छन् ।
पदकका लागि आशा गरिएका बक्सिङका सुस्मा तामाङ र भुपेन्द्र थापा पराजित भएका हुन । चीनको हाङचउमा बुधवार भएको पुरुष ६३ दशमलव ५ केजीमुनि समूहको खेलमा भुपेन्द्र थापा चाइनिज ताइपेइका लाई चुन इनसँग र सुस्मा महिला ५० केजीमुनि समूहमा कजाखस्तानकी किजाइबे नाजिमसँग पराजित भएका हुन् ।

भुपेन्द्र १३ औं दक्षिण एशियाली खेलकुदका स्वर्ण विजेता हुन् भने सुस्माले गत वर्ष थाइल्याण्डमा यु–२२ एएसबिसी बक्सिङ च्याम्पियनसिपमा रजत पदक जितेका थिइन् । बक्सिङमा नेपालका अब तीन खेलाडीले खेल्न बाँकी छ । बक्सिङमा जस्तै पौडीमा पनि नेपाली खेलाडीले पराजय नै भोगेका छन् ।
नेपालका पौडीबाजद्वय डुवाना लामा र नासिर हुसेन पराजित हुदै बाहिरिएका छन् । बुधवार भएको खेलमा डुवाना लामा र नासिर दुवैले खराब प्रदर्शन गरे । पुरुष दुई सय मिटर फ्रिस्टाइलमा नासिरले २ मिनेट १४ मिलिसेकेण्ड समय निकाले । उनको समय हिटमा नै सातौं स्थानमा रह्यो । यस्तै महिला एक सय मिटर ब्रेस्टस्टोकमा प्रतिष्पर्धा गरेकी डुवाना पनि हिटमा नै पुछारमा रहिन् ।
उनले एक मिनेट २० सेकेण्ड १५ मिलिसेकेण्डमा उक्त दुरी पूरा गरिन् । उनले पनि आफ्नै उत्कृष्ट समय पनि भेट्टाउन सकिनन् ।
प्रतिक्रिया दिनुहोस्