२३ आश्विन २०८१, बुधबार | Wed Oct 9 2024


संविधान दिवसः महानगरलाई झिलिमिली बनाइने


0
Shares

काठमाडौं, भदौ २५ । काठमाडौं महानगरपालिकाले आगामी संविधान दिवस मनाउनेक्रममा महानगरलाई झिलिमिली बनाउने भएको छ ।

आगामी असोज ३ गते मनाइने संविधान दिवसका लागि कामपा वृक्षरोपण, सरसफाइ, सजावट, पुष्पवृष्टि, सांस्कृतिक झाँकी प्रदर्शन र सजावटको काममा लागेको छ ।

मूल समारोह अवधिभर दमकल, एम्बुलेन्सलगायत आवश्यक सेवा तैनाथ, मञ्चको विशिष्टकक्षलगायत स्थानमा पिउनेपानीको व्यवस्था र ध्वनिको व्यवस्था गर्ने कामपाले जनाएको छ ।

कामपा प्रमुख विद्यासुन्दर शाक्यले संविधान दिवस मनाउनका लागि तयारी गर्न सम्बन्धित सबै विभागीय प्रमुखलाई निर्देशन दिँदै सबै काम दिगो र प्रभावकारीरुपमा गर्नुपर्ने बताए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत यादवप्रसाद कोइरालाले ५ फिटभन्दा कम उचाइका विरुवा नरोप्न, रोपिएका विरुवालाई रोप्ने व्यक्ति वा संस्थालाई नै हुर्काउने जिम्मा लिन र बिरुवा रोपेर विज्ञापन राख्ने काम बन्द गर्न वातावरण व्यवस्थापन विभाग र नगर प्रहरी महाशाखालाई निर्देशन दिए ।

दिवसका दिन मूल कार्यक्रममा सहभागी हुन आउने नागरिकलाई अघिल्ला वर्षमाजस्तो घाममा उभ्याउन नलगाई व्यवस्थितरुपमा बस्नका लागि स्थान तथा आवश्यक परेमा स्वास्थ्य सेवा र पानीको व्यवस्था कामपाले गर्नेछ ।

त्यससँगै ध्वजापताकासहितको तोरण र बेलुन उडाइने तथा काठमाडौं उपत्यकाका सबै नगरपालिकाको परम्परागत, सांस्कृतिक र जातीय पहिचानसहितको झाँकी र विभिन्न पेसागत समूहको प्रदर्शनमा महानगरले समन्वय गरिने काम कामपाको रहने बताइएको छ । रासस