८ फाल्गुन २०८०, मंगलबार | Tue Feb 20 2024


संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुक्यो : झलनाथ खनाल


65
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानको सफल कार्यान्वयनमा नेतृत्व चुकेको बताउनुभएको छ ।

मंगलबार नेकपा एमालेले आयोजना गरेको सुवास र संविधान विषयक कार्यक्रमलाई एमाले पार्टी कार्यालय च्यासलमा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले संविधान बनाउँदा नेतृत्व वर्ग सचेत भएजस्तो कार्यान्वयको बेलामा भने हुन नसकेको जिकिर गर्नुभयो । उहाँले बहुलजातीय, बहुभाषिय, बहुसांस्कृतिक, बहुधार्मिक देशको रुपमा संविधानमा उल्लेख भएअनुसारको मर्म र भावनालाई जनतासमक्ष बुझाउन नसकिएको स्पष्ट पार्नुभयो ।

उहाँले संविधानको मर्म र भावनालाई जनतामा बुझाउन नसक्दा अहिले कोशी प्रदेशमा पहिचानको नाममा आन्दोलन भइरहेको बताउनुभयो । उहाँले संविधान बनाएर पनि आम जनताको बीचमा राम्रोसँग शिक्षित, प्रशिक्षित गर्न नसक्नु नेतृत्वको कमजोरी भएकाले अब सबैले संविधानको कार्यान्वयन गर्न आवश्यक रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री खनालले देशको राजनीति दिशाहीन भएको बताउनुभयो । उहाँले राजनीतिक, आर्थिक, सांस्कृतिक रुपमा संकटहरु बढ्दै गएको बताउनुभयो । उहाँले देशका वामपन्थीहरु मेलमिलाप भएमात्रै स्व.सुवासचन्द्र नेम्वाङप्रतिको सच्चा श्रद्धाञ्जली हुने बताउनुभयो ।