काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कोशीमा नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बनाउन सुझाव दिनुभएको छ ।
प्रदेश आफूहरुको प्राथमिकताको विषय नै नभएको भन्दै उहाँले अहिलेको व्यवस्थाका संस्थापकहरु नै मिलेर सरकार बनाउनु उचित हुने बताउनुभयो ।
शनिबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उहाँले अहिलेको व्यवस्थाको संस्थापक मिलेर प्रदेशसभा जोगाउन सुझाव दिनुभयो । कोशीमा सत्तारुढ गठबन्धनमा रहेका दलहरु कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी मिलेर उद्धव थापालाई मुख्यमन्त्री बनाए पनि दुबै पटक सर्वोच्च अदालतको आदेशमा पदमुक्त हुनुभएको छ ।
गत बिहीबार सर्वोच्च अदालतले थापाको मुख्यमन्त्री नियुक्ति बदर गर्दै ठूलो दलको संसदीय दलको नेताको हैसियतमा एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीलाई मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखका नाममा परमादेश दिएको थियो । सो आदेश अनुसार शुक्रबार कार्की मुख्यमन्त्री नियुक्त हुनुभएको छ ।
तर, ३० दिनभित्र विश्वासको मत लिन उहाँलाई पनि कठिन छ ।
प्रतिक्रिया दिनुहोस्