२६ आश्विन २०८१, शनिबार | Sat Oct 12 2024


काठमाडौंमा कस्तो छ सुरक्षा अवस्था ! एक प्रहरीले २१७ जनालाई सुरक्षा दिनुपर्ने ! (भिडियो)


0
Shares

काठमाडौं, भदौ २४ । राजधानीको सुरक्षा ब्यवस्था कायम गर्न प्रहरीका लागि अन्य ठाउँको भन्दा केही चुनौती नै हुन्छ ।

काठमाडौं उपत्यकामा जनसंख्या बढ्दो क्रममा छ । तर त्यसको अनुपातमा सुरक्षाकर्मीको संख्या भने न्यून छ । सँगै प्रहरीसँग आधुनिक प्रविधि र उपकरणको अभाव हुँदा सुरक्षा चुनौती बढेको छ । 

काठमाडौं उपत्यकाको जनसंख्या ४० लाखभन्दा बढी छ । बढी जनघनत्व भएका कारण अन्य ठाउँको भन्दा यहाँ सुरक्षा चुनौती बढ्नु पनि स्वाभाविक हो । तर यति धेरै जनसंख्याका लागि प्रहरीको संख्या भने कम छ । उपत्यकामा  जम्मा ११ हजार ५ सय ७५ जना प्रहरी कार्यरत छन् । सुरक्षामा खटिएका प्रहरी र जनसंख्याको अनुपात हेर्ने हो भने उपत्यकाका प्रति एक प्रहरीले २१७ जनालाई सुरक्षा दिनुपर्ने हुन्छ ।

उपत्यकाको अपराध नियन्त्रणका लागि प्रहरी विभिन्न समयमा अभियान चलाए पनि त्यो प्रभावकारी बन्न सकेको छैन । तीन जिल्लामा ६९ वटा कन्ट्रोल रेस्पोन्स भेइकल र ३ सयको संख्यामा क्विक रेस्पोन्स टिम छ । यिनीहरुले कन्ट्रोल रुमले दिएको सुचनाको आधारमा छिटोभन्दा छिटो घटनास्थल पुगेर जनतालाई सेवा दिने काम गर्छन् ।

त्यसैगरी रानीपोखरीस्थित महानगरीय प्रहरी कार्यालयको कन्ट्रोल रुमबाट राजधानीको विभिन्न स्थानमा जडान गरिएको सिसिटिभीमार्फत निगरानी हुन्छ । उपत्यकाका विभिन्न स्थानमा ४ सय ३१ सीसीटिभी जडान गरिएको छ । तर त्यो आवश्यकताभन्दा निकै कम रहेको प्रहरी वरिष्ठ उपरीक्षक पूर्णचन्द्र जोशी बताउँछन् ।

प्रहरीको कन्ट्रोल रुमको १०० नम्बरमा आएको सूचनालाई छिटो प्रवाह गर्न हरेक दिन १२० जना प्रहरी २४ सै घण्टा खटिएका हुन्छन् । जहाँ दैनिक ३ हजारको हाराहारीमा फोन आउने गरेको छ । तीमध्ये ६० प्रतिशत घटनाको बारेमा जानकारी दिन र ४० प्रतिशत सोधपुछको लागि हुने गर्दछ ।

प्रहरीले ‘हाम्रो पुलिस’ भन्ने मोबाइल एप पनि बनाएको छ । जसको माध्यमबाट आफ्नो वरपर हुने घटना र शंकास्पद कृयाकलापबारे प्रहरीलाई सूचना दिन सकिन्छ । बढ्दो जनसंख्यालाई दृष्टिगत गरी प्रहरीको संख्या थप गर्नुका साथै आधुनिक प्रविधिले सुसज्जित नगरेसम्म अपराध नियन्त्रण गर्न प्रहरीलाई चुनौतीपूर्ण नै देखिन्छ ।

भिडियो हेर्नुहोस्