११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


दुई गाउँपालिकाबीच पूर्वाधार विकासमा सहकार्य गर्ने सहमति


0
Shares

सन्तोष राउत

सोलुखुम्बु, भदौ २४ । सोलुखुम्बुका माप्यदुधकोसी गाउँपालिका र खुम्बुपासाङल्हमु गाउँपालिकाले एकभन्दा बढी गाउँपालिकाको क्षेत्रमा पर्ने विकासका लागि मिलेर अघि बढ्ने सहमति गरेका छन् । विकासका पूर्वाधारका रुपमा रहेका सडक र पुल निर्माणमा सहकार्य गर्दै विकासलाई अगाडी बढाउन दुवै गाउँपालिकाले लिखित सम्झौता गरेका हुन् । 

सम्झौतामा दुधकोसी नदीको ओर्लाङघाटदेखि पर्यटकीय क्षेत्र खरिखोलासम्मको मोटरेबल सडकको ट्रयाक खोल्ने र ओर्लाङघाटमा बेलीब्रिज निर्माण गर्ने सहमति भएको छ । दुवै गाउँपालिकाका जनप्रतिनिधिनिले सम्झौतामा हस्ताक्षर गर्दै तत्काल डिपिआर तयार गरी निर्माण कार्य शुरु गर्ने उल्लेख गरेका छन् । केन्द्र र प्रदेश सरकारसँग आर्थिक स्रोतको लागि पहल गर्ने र कतैबाट स्रोत व्यवस्थापन नभए ५०÷५० प्रतिशत लगानीमा भए पनि विकासलाई नरोक्ने सङ्कल्प गरेका छन् ।

सम्झौतामा माप्यदुधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राई र खुम्बुपासाङल्हमु गाउँपालिकाका अध्यक्ष ङिमदोर्जी शेर्पाले हस्ताक्षर गरेका छन् । दुवै गाउँपालिकाका जनप्रतिनिधिहरुले हवाईमार्गबाट मात्र खुम्बुको यात्रा गर्ने पर्यटकलाई माप्यदुधकोसी हुँदै खुम्बुक्षेत्र भित्र्याउने उद्देश्य रहेको भन्दै यसले खुम्बुमा मात्र खुम्चिएको पर्यटनलाई तल्लो सोलुसम्म विस्तार गरी जनताको आयस्तर बढाउन मद्दत गर्ने बताएका छन् । 

दुवै गाउँपालिकाको पर्यटन तथा कृषि उत्पादनको बजारीकरणका लागि अत्यन्तै महत्वपूर्ण मानिएको उक्त सडक तथा पुलको निर्माणपछि तल्लो सोलुको पर्यटन विकास हुने माप्यदुधकोसी गाउँपालिकाका अध्यक्ष बुद्धिकिरण राईले बताए । कृषि उत्पादन राम्रो हुने माप्य दुधकोशी गाउँपालिकाको अर्गानिक कृषि उपजलाई नेपालकै व्यस्त पर्यटकीय क्षेत्रमा पर्ने खुम्बुक्षेत्रमा पु¥याएर पर्यटकलाई अर्गानिक तरकारी लगायतका खाद्य सामग्री उपलब्ध गराउन सहज हुने उनको भनाइ छ । 

यस क्षेत्रमा खालिङ राई जातिको अलग्गै संस्कृति भएकाले सांस्कृतिक पर्यटनलाई प्रबर्द्धन गर्न सकिने भन्दै अध्यक्ष राईले लुक्लामा रहेको तेन्जिङ हिलारी विमानस्थलमा मौसम खराबी भएका बेला त्यस मार्गबाट पर्यटक सहजै खुम्बु पुग्न सक्ने बताए । उक्त सडक सञ्चालनमा आएपछि खुम्बुमा सजिलै उपभोग्य सामग्री पुग्ने भएकाले खुम्बु भ्रमण सस्तो हुने राईको भनाइ छ ।

यी बाहेक दुवै गाउँपालिकासँग सरोकार भएका भविष्यमा अन्य विकास निर्माणका योजनामा समेत सहकार्य गरिने बताइएको छ । सम्झौतालाई दुवै गाउँपालिकाकोे गाउँकार्यपालिका बैठकबाट अनुमोदन गराई कार्यान्वयन गरिने भएको छ ।