१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


सुन प्रकरणमा अनावश्यक तनाव दिएको भन्दै विमानस्थल भन्सार कार्यालयका कर्मचारीले मागे सरुवा


7.904k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका १३७ जना कर्मचारीले सामूहिक सरुवा माग्दै भन्सार विभागमा निवेदन दिएका छन् ।

विभागका महानिर्देशकलाई सम्बोधन गर्दै मंगलबार ३५ अधिकृतसहितका कर्मचारीले एकैसाथ सरुवा मागेका हुन् । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक टोकराज पाण्डेले पनि कर्मचारीहरुले सरुवा माग्दै निवेदन दिएको पुष्टि गर्नुभएको छ । ‘६० किलो सुनका विषयलाई लिएर विभिन्न निकायबाट अनुसन्धान र छानबिनको वहानामा विनाकारण दुःख दिने र मानसिक रुपमा क्षतविक्षत बनाउने काम भएको’ भन्दै कर्मचारीले सामुहिक रुपमा सरुवा मागेका हुन् ।

राज्यबाट उपलब्ध स्रोत, साधनको अधिकतम उपयोग गरेर आफ्नो ज्ञान, सीप र क्षमताले भ्याएसम्म असल नियत र मनसायका साथ कार्यजिम्मेवारी पूरा गर्दै आएकामा अहिले विनाकारण दुःख दिने काम भएकाले कामकाज गर्न कठिनाइ भएको निवेदनमा उल्लेख गरिएको छ । विनाकारण भोग्नु परेको मानसिक तनावका कारण घर, परिवार तथा समाजबाट समेत बहिष्कार हुने स्थिति सिर्जना भएको कर्मचारीहरुको गुनासो छ ।  गत साउन ३ गते राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार पास भएर लैजान लागिएको सुन समातेको थियो  । तस्करीको उक्त सुनबारे नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले अनुसन्धान गरिरहेको छ ।