७ चैत्र २०७९, मंगलबार | Wed Mar 22 2023


बीपी कोइरालाको १०५ औं जन्मजयन्ती मनाईंदै


0
Shares

काठमाडौं । नेपालको प्रजातान्त्रिक आन्दोलन र साहित्यमा विशिष्ट योगदान पुर्‍याएका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०५ औं जन्मजयन्ती विविध कार्यक्रम गरी आज मनाईंदै छ ।

१९७१ साल भदौ २४ गते जन्मिएका कोइराला क्रान्तिद्रष्टा, सिद्धान्तनिष्ठ र अटल राष्ट्रवादका धनी हुनुका साथै साहित्यमा अराजक र राजनीतिमा व्यवहारवादी थिए । 

उनकै नेतृत्वमा २००३ सालमा नेपाली राष्ट्रिय कांग्रेस स्थापना भएको थियो ।

राणा शासनको अन्त्य गरी मुलुकमा प्रजातन्त्र स्थापना गर्न २००७ सालको क्रान्तिको नेतृत्व गरेका कोइराला २०१५ मा भएको पहिलो आम चुनावपछि जननिर्वाचित पहिलो प्रधानमन्त्री बनेका थिए ।

कोइरालालाई अपदस्थ गरी २०१७ सालमा राजा महेन्द्रले निरंकुश पञ्चायती व्यवस्था लागू गरेपछि थुप्रै वर्ष उहाँले जेल जीवन विताए ।

पञ्चायती व्यवस्थाविरुद्ध निरन्तर संघर्ष गरेका कोइरालाले देशको राष्ट्रियता कमजोर बन्दै गएका बेला २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति अख्तियार गरी भारत प्रवासबाट स्वदेश फर्किएका थिए ।

स्वर्गीय कोइराला नेपाली राजनीतिमा मात्र नभई साहित्यका फाँटमा पनि त्यतिकै चर्चित छन् ।

कोइरालाका आत्मकथा, जेल जर्नल, दोषी चस्मा, यहूदी र हिटलर, सुम्निमा, मोदीआइन, श्वेत भैरवी, तीन घुम्ती, नरेन्द्र दाईलगायतका थुप्रै बहुचर्चित कृति प्रकाशित छन् । घाँटीको क्यान्सरका कारण २०३९ साल साउन ६ गते उनको निधन भएको थियो ।