२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


काठमाडौंमा आर्थिक अपराधका घटना सबैभन्दा धेरै


429
Shares

काठमाडौं । मुलुकको संघीय राजधानी काठमाडौंमा अघिल्लो एक महिनामा बैंकिङ कसुर र आर्थिक अपराधका १६ सय ४७ निवेदन दर्ता भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नयाँ आर्थिक वर्षको पहिलो महिनामा वित्तीय अपराधका उल्लेख्य निवेदन परेका छन् । त्यसो त वितेको वर्ष पनि आर्थिक अपराध र बैंकिङ कसुरमा सबैभन्दा बढी मुद्दा दर्ता भएका थिए ।

चेक बाउन्स उजुरी लिएर आउँदैमा उजुरी दर्ता नगर्ने नीति लिएको प्रहरीले चेक दिने खातावालालाई सम्पर्क गरेर पीडितसँग मिलापत्र गराउने प्रयास गर्ने गरेको छ । प्रहरीको आग्रह अटेर गरी हप्ता दिनसम्म पनि सम्पर्कमा नआएको खण्डमा मात्र चेक बाउन्सको उजुरी दर्ता गरेर कारवाही प्रकृया अघि बढाउने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमुद ढुंगेल बताउनुहुन्छ ।

पछिल्लो समय बैंकिङ कसुर र आर्थिक अपराधअन्तर्गत चेक बाउन्स, रोजगारीमा विदेश पठाइदिने, विदेशबाट उपहार पठाएको भनी आर्थिक ठगी गर्ने प्रवृत्ति बढेको छ । त्यसबाहेक भूमाफियाहरुले जग्गा किन्दा अधिकांश खातामा रकम नभएको चेक दिएर ठग्ने र यस्तो प्रवृत्तिले गर्दा कतिपय पीडितहरु घरवारविहीन हुन पुगेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

खातामा रकम नभएको चेक दिनेहरुमा उद्योग व्यवसायी, उच्च ओहोदाका सरकारी अधिकारी हुँदै जनप्रतिनिधिसम्म रहेका छन् । सबै तह र तप्काका मानिस यस्ता घटनाबाट पीडित बनेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता कुमुद ढुंगेल बताउनुहुन्छ ।

गयको आर्थिक वर्ष २०७९/८०मा काठमाडौंमा दर्ता भएका १० हजार मुद्दामध्ये आधा बढी मुद्दा बैंकिङ कसुर र आर्थिक अपराधका रहेको जिल्ला प्रहरी परिसरले जनाएको छ । बैंकिङ कसुर र आर्थिक अपराधसम्बन्धी दैनिक ३० देखि ३५ वटा निवेदन परिसरमा दर्ता हुने गरेको छ । उपत्यकामा बैंकिङ कसुर र संगठित तथा आर्थिक अपराधका घटनामा वृद्धि भएको छ ।

परिसरका अनुसार बैंकिङ कसुर र आर्थिक अपराध बाहेक चालु आर्थिक वर्ष २०८०/८१मा अभद्र व्यवहार सम्बन्धी २ सय ३८, चोरीसम्बन्धी कसुर ८२, जबर्जस्ती करणी ३३, साइबर अपराध ६५ र ठगीका ३५ वटा मुद्दा दर्ता भएका छन् ।

यस्तै, सबैभन्दा बढी ७ करोड ६८ लाख ७९ हजार रुपैयाँको चेक बाउन्स मुद्दा दर्ता भएको छ भने मिलापत्र संख्या १६ र श्रावण महिनाभित्र दर्ता भएको चेक बाउन्स मुद्दा ४० करोड ६५ लाख ५८ हजार ६ सय ८६ रुपैयाँ रहेको छ ।

यसरी बैंकिङ कसुरको मुद्दा बढ्नाले प्रहरीलाई दबाब बढेको हो तर, त्यस्तो खालको कसुर हेर्न प्रहरी नायब उपरीक्षकको कमाण्डमा छुट्टै बैंकिङ कसुर शाखा नै स्थापना गरी सेवाग्राहीको काम भइरहेको छ । कसैसँग आर्थिक कारोबार गर्दा सचेत रहन जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता ढुंगेल बताउनुहुन्छ ।

आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुर तथा आर्थिक अपराधसम्बन्धी कसुरका ५० प्रतिशतले मुद्दा बढेको जनाइएको छ ।