-हरिविनोद अधिकारी:
पिता वा बा कति प्यारो, मीठो र भरलाग्दो वाक्य । हामी गाउँमा त्यसबेला बा नै भन्थ्यौं । अझ म माहिला बालाई पनि बा नै भन्थें ,जब बाहरु सँगै हुुनुहुन्थ्यो, त्यसबेला माथि बा र आफ्नो बा भनेर बोलाउँदा सबै हाँस्थे । मेरा बाहरु तीन भाइ हुनुहुन्थ्यो । कान्छाबा २०२४ सालमा नै स्वर्गे हुनुभयो र माहिलाबा २०३८ सालमा परलोक जानु भयो । मेरो बा जेठो हुनुहुन्थ्यो । उहाँको निधन २०६१ सालको भाद्र ३१ गते मध्यरातमा भएको थियो ८५ वर्षको उमेरमा सम्भवतः हृदायाघातबाट । किनभने एकछिन ऐया नभन्दै स्वर्गे हुनुभएको थियो रे । मैले थाहा पाउँदा उहाँको भौतिक शरीर निश्चल भइसकेको थाहा भयो ।
महाभारतको वनपर्वमा युधिष्ठिरलाई जब यक्षले पिताको परिचय सोध्छ, युधिष्ठिरले पितालाई आकाशको रुपमा र मातालाई धर्तीको रुपमा परिभाषित गरेका हुन्छन् । आज पनि त्यही परिभाषा विश्वव्यापीरुपमा चलायमान छ, चर्चित छ । पिताका वारेमा सामान्यरुपमा दिएको जस्तो लाग्ने त्यो उत्तर आज आएर पो म बुझिरहेको छु कि आकाश के रहेछ ? वास्तवमा आकाश नै हो रहेछ पिताको परिभाषा । धरती नै हो रहेछ आमाको परिभाषा ।
हुन त व्याकरणले बालाई एउटा अर्थपूर्ण शब्दको रुपमा मात्र मान्ला तर मेरालागि यो एउटा व्रह्माण्ड नै हो र मैले होस समालेदेखि बा भन्ने शब्दलाई एउटा सम्पूर्ण वाक्य, अझ भनौ सम्पूर्ण विश्व अटाउने र अत्यन्तै भरपर्दो छतको रुपमा ग्रहण गरेको हुँ । आज झन त्यो वाक्य यस्तो भएको छ कि अब मैले त्यो बा नाम गरेको विश्वसँग, बा नाम गरेको त्यो व्रह्माण्डसँग सपनामा बाहेक, तस्बिरमा बाहेक र स्मृतिमा बाहेक कहिल्यै साक्षात्कारसमेत गर्न पाउने छुइन । बा हुनुहुन्थ्यो भनेर प्रमाण दिनका लागि म, मेरा भाइहरु र बहिनीहरुलाई नै देखाउनु जरुरी हुन्छ ।अझै मेरी कान्छी फुपू हुनुहुन्छ र उहाँलाई त हामीलाई देख्दा आफ्नो दाजुको तिर्सना मेटिन्छ रे ।
अहिले जब बा पनि हुुनुहुन्न र आमा पनि हुुनुहुन्न । लाग्छ पृथ्वी र आकाश नभएको मेरो संसार यस्तैगरी चलिरहेको छ । चल्दोरहेछ । तर म आफैंले भने त्यो छतको , आकाशको उत्तरदायित्व निर्बाह गर्न सकेको जस्तो पटक्कै लाग्दैन किनकि म पनि सन्ततिको पिता, बा, बाबा, पितामह, मातामह भइसकेको छु । लाग्छ, बाजस्तो मेरोलागि अपनत्व शब्द तर कतै फेला पार्न सकेको छुइन । मलाई मात्र हो कि अरुलाई पनि हो, पिताजीका लागि भनिने त्यो बा नै मेरालागि फराकिलो, चौडा र पटाङ्गिनी जस्तै शब्द लाग्छ । हुन त मलाई व्रह्माण्डजस्तै लागेको शब्द बा सिङ्गो वाक्य जस्तै किन लाग्यो त्यो भन्न सक्दिन, त्यसको आधार पनि थाहा छैन मलाई ।
म व्याकरणीय परिभाषा पनि जान्दिन तर यति थाहा अब भयो–बा र आमाभन्दा ठूलो देवता यस संसारमा कोही पनि छैन । कल्पित स्वर्ग कहाँ होला तर आमाको काख नै स्वर्ग हो र म आजभन्दा पाँचवर्ष अघिसम्म पनि आमाको काखमा पल्टन्थें र एउटा स्वर्गीय आनन्दको महसुस गर्थें । सायद सबै छोराछोरीहरुले त्यहीं सम्झँदा हून् । सानामा निदाएको बहाना गर्दै बाले बोकेर ओछ्यानसम्म लैजाँदा जुन अपार आनन्द आउँथ्यो, अनि खाटमा सुतेपछि हाँसो उठ्थ्यो, बा पनि बेस्सरी हाँस्नुहुन्थ्यो र भन्नुहुन्थ्यो , हरिले आज मलाई झुक्यायो ।
सम्भवतः आमा भन्ने सम्पूर्ण वाक्यको थालनी पश्चात् नै बा भन्ने व्रह्माण्ड वाक्यको शब्दोच्चारण मैले गरें हुँला । यो कुरा आमालाई पनि त्यति याद छैन मैले पहिले बा भनेँ कि आमा । तर बाल मनोविज्ञानका आधारमा भन्नचाहिँ सकिन्छ कि मैले आमा पछि बोलेको शब्द पक्कै नै बा नै हुनुपर्दछ तर आडभरोसका लागि भने बाको नै , धाक धक्कु लगाउने र सवैभन्दा ठूलो, बलियो र पैसा भएको मान्छेमा बालाई नै मैले आफ्नो महानायकको रुपमा पहिचान लिएँ जुन प्रभाव अब झन गाढा हुँदै जाँदैछ ।
जब जब म आफ्नो पहिचान र परिचयको गाढा लेपनमा लिप्त हुन्छु, त्यसबेलामा बाको यत्ति धेरै याद आउँछ कि मेरा आँखा सजल हुन्छन् । मेरी १०० महिनाका सानी नातिनी विश्रुताले जब जब बाको तस्बिरनेर गएर बाबाको बालाई प्रणाम भनेर आफ्ना प्रपितामहलाई ढोग्नका लागि ती साना साना हात जोडेर निधारमा पुर्याउँछे, र हतार हतार विद्यालय दौडन्छे प्रत्येक दिन, अनि झन झन मलाई बाको सम्झनाले कोक्क्याउँछ र घाँटीमा एउटा विषादपूर्ण आवाजविहीन आवाजले ख्याप्प पार्छ किनभने ऊ बाकी पनातिनी हो र उहाँको वंशवृक्षको चौथो शाखा हो । उसैका माध्यमले बा यो संसारमा अमर भइरहनु हुनेछ, म पनि र मेरो छोरो पनि । त्यसले बालाई नचिनेर पनि प्रणाम गरिरहँदा र बाबाको बा भनेर सम्बोधन गरिरहँदा मलाई हुने स्वर्गीय अनुभूतिको कुनै सीमा नहुने रहेछ । झन मेरै वंशबृक्षमा नै बाका पाँचओटा पनातिनी भइसकेका छन्, दुईओटा नातिबाट र तीनओटा नातिनीहरुबाट ।
मलाई लाग्थ्यो, मेरो बालाई कुनै पनि कालले लान सक्दैन अर्थात मेरो बाको निधन मैले सपनामा पनि कल्पना गर्न सक्दैनथें । तर बा बेला मौकामा भन्नु हुन्थ्यो रे कि त्यो म मरेपछिमात्र आउनेछ । अलिअलि ज्वरो आउँदा पनि आमालाई कराउँदै भन्नुहुन्थ्यो रे कि त्यसलाई छिटो बोलाइदे । आमाले बुझ्नु भएको थियो कि यो ज्वरो १—२ दिनमा सन्चो भइहाल्छ , किन छोरालाई काठमाडौँदेखि हतार हतार गरी बोलाउनु । तर बालाई २०६१सालको भदौको ३१ गते राती १२ बजे यसरी अचानक टाउको र छाती दुखेछ कि उहाँले आमालाई समेत, छाती अप्ठ्यारो भयो अ ि टाउको दुख्यो मात्र भन्न भ्याउनु भएछ र सदाका लागि हामीलाई छोडेर जानुभएछ ।
अहिले हामी अनुमान गर्न सक्छौं कि त्यो कडास्वरुपको मस्तिष्कघात हुनुपर्छ या हृदयाघात हुनुपर्छ । हामीलाई लाग्थ्यो बालाई केही भएको छैन । छाकमा झन्डै एकमानाको भात,घिउसँग खानै पर्ने उहाँको साँढे सात दशकदेखिको चलन थियो । साहुको पहिलो छोरोको रुपमा उहाँको यस धर्तीमा अवतरण हुँदादेखिको खानपानको सोखले अन्तिम दिनसम्म पनि उस्तै रह्यो । कुनै दिनमा बाले ख्यालख्यालमा भनेजस्तै , असोज १ गते दिनको ३बजेतिर म सीतापुरको घरमा पुग्दा बालाई घाटमा अन्त्येष्टि गरेर भनौँ सेलाएर भाइ घरमा आइपुगेको रहेछ । बाले गरेको जस्तै भविष्यवाणी पुग्यो-त्यो म मरेपछिमात्र किरिया गर्न आइपुग्छ । नभन्दै त्यस्तै भयो ।
विसं १९७६ साल हली तिहारका दिन यस पृथ्वीमा आउनु भएको मेरो बा २०६१ सालको हरितालिकाका दिन अर्थात तीजका दिन निर्वाण प्राप्त गर्नुभयो वा महाप्रस्थानमा निस्कनु भयो । पहिले पहिले घरबाट बाहिर जाँदाका प्रस्थानमा बा फर्कनु हुन्थ्यो तर यसपटकको घरभित्र नै सबैले देख्ने गरी भएको प्रस्थानमा फेरि कहिल्यै फर्कनु भएन । फर्कनु पनि हुन्न पक्कै । सायद त्यसैले महाप्रस्थान भनिएको पनि होला मृत्युलाई ।
जीविकोपार्जनका लागि गरेको संघर्षका ती दिनहरू र जीवनलाई सहजताका साथ सामान्यीकरण गर्न भोगेका ती संघर्षका गाथाहरूभन्दा बाको मृत्यु धेरै गहु्रँगो हुँदोरहेछ । सवै दुःख दर्द एकातिर र बाको कमी अर्कोतिर । भन्ने पर्ने हुन्छ कि कसैलाई पनि बाको मृत्यु भोग्नुपर्ने दिन नआओस् तर फेरि यो पनि ध्रुव सत्य हो कि त्यो दिनचाहिँ भोग्नै पर्दोरहेछ । त्यो जीवित देवताको अनुहार सम्झँदा जहिले पनि गर्वले आँखा भरि आँशु आउँछ र वेदनाले मुटु भक्कानिन्छ । गर्व यसकारणले लाग्छ कि म उहाँको छोरो हुँ र मुटु यसकारणले भक्कानिन्छ कि अब यो जुनीमा मैले बालाई कहिल्यै भेट्ने छैन । मलाई देवता वा ईश्वरका वारेमा खासै जानकारी छैन र त्यो दर्शनप्रति मेरो त्यति विश्वास पनि छैन तर बा ईश्वर हो भन्ने कुरामा म विश्वस्त छु कि म उहाँको सृष्टि हुँ जसलाई उहाँले पाल्नुभयो, पोस्नुभयो र दीक्षित गराउनु भयो यो सन्सारसँग मिलेर बस्न । नीतिका कुरा गरेर नैतिकताको पाठ पढाउनु भयो र बारम्बार मलाई भन्नुभएको थियो–हेर छोरा, अठार पुराणको अन्तमा व्यासले भन्नुभएको छ कि अठार पुराणको निष्कर्ष भनेको परोपकार पुण्य हो अनि अर्कालाई पीडा दिनुचाहिँ पाप हो । यही हो तँलाई मेरो उपदेश वा सन्देश । मैले थाहा पाएसम्म एकै समयमा लगातार १८ पुराण लगाएको बाले नै हो , जुन मैले आजसम्मको हाम्रो सामयिक समाजमा देखेको , सुनेको । दीक्षित हुन सोमयज्ञ गरेको सुनेको हुँ तर अठार पुराण लगाएको मैले अन्त थाहा पाएको छैन । उहाँले लगाउनु भयो २०२३ सालदेखि २०२६ सालसम्ममा ।
बाको ८५ वर्षको जीवनमा मैले पनि ५१ वर्ष उहाँको प्रत्यक्ष छहारीमा बिताएँ । २०११ साल वैशाख २५ गते जन्मेको म । एउटा मनोविज्ञान पनि होला त्यो , मैले कुनै पनि समय आफूलाई असुरक्षित सम्झिन उहाँको जीवनभर । अहिले लाग्छ, म बाविना कतै सुरक्षित छुइन कि ? मैले यो आभास आफ्ना सन्ततिलाई गराउन सकेको छैन, यो मेरो स्वघोषणा हो किनभने उहाँकै छतमा हामी सवैले सुरक्षा महसुस गरिरहेका थियौँ । उहाँकै इच्छाबमोजिम म १३ वर्षको उमेर देखि घर छोडेर बाहिर पढ्न हिँडेँ । उहाँको चाहना संस्कृत पढोस र पण्डित बनोस भन्ने थियो, मैले त्यो पूरा गर्न सकिन तर अहिले आएर लागेको छ , मैले त्यसबेलामा संस्कृत पढेको भए अहिले मलाई ग्लानि हुने थिएन सँस्कृत नजानेकोमा । म अहिले महाभारतको शिक्षाको सामाजिक न्याय भनेर अनुसन्धान गर्न थालेको छु र संस्कृतको अल्पज्ञानले मलाई अत्यास लागिरहेको छ ।
त्यसपछि उहाँकै चाहनाअनुसार आफ्नै खुट्टामा टेक्ने काम गर्न थाल्दा उहाँसँग सामान्यतया वर्षका एकपल्ट वा दुईपल्टमात्र भेट हुन्थ्यो । बाको गुनासो हुन्थ्यो , अरु त विदामा आउँछन्, तँ पनि आउने गर्नु । म हुन्छ भन्थेँ र खोइ केले केले हो, जानै चाँजो पर्दैनथ्यो । २०६१ सालको जेठमा काठमाडौँ आउनु भयो र यस सालको दसैँ काठमाडौँमा नै मनाउने गरी असारमा जानु भएको थियो । म यसकारणले पुलकित भएको थिएँ कि बालाई यसपटक त काठमाडौँमा नै दसैँ मनाउन मनाएँ । एकपटक सीतापुर पुगेर आउने वाचा त बाले नै गर्नु भएको थियो । म दसैंमा बा आउने गरी दिन गन्न थालेको थिएँ जस्तो कि पहिले पहिले बा नै म घर आउने दिन गनेर बस्नुहुन्थ्यो घटस्थापनाका दिनदेखि । केटाकेटी घर पुग्थे र त्यसको २ वा ३ दिनपछि म पुग्थेँ जनकपुरतिर अलमलिएर, साथीभाइ भेटेर ।
वास्तवमा मेरो पुख्र्यौली अहिलेको काभे्रपलान्चोक जिल्लाको दाप्चामा रहेछ तर मभन्दा ४ पुस्ता पहिले नै अहिलेको सिन्धुलीको हैबार, देउरालीटार हुँदै ग्वाल्टारमा बसाइ हुँदै आएको रहेछ । त्यसैले मेरो बा र मेरो जन्म ग्वाल्टारमा नै भयो , र अहिले पनि ग्वाल्टारमा हाम्रो स्थायी बसोबास छ, हुनत हामी अहिले कोही पनि त्यहाँ बसेका छैनौ । घर छ , गोठ छ, खेत छ ,बारी छ । जस्ताको तस्तै छ ।
सधैँ एकनास कहाँ पो हुँदो रहेछ र ?२०६१ साल भदौको ३१ गते राती दर खाएर सुतेका मात्र थियौँ सवै परिवारका सदस्यहरू, करिब २ बजेतिर फोन आयो , बा टाउको दुखेर बेहोस हुनुभएको छ भनेर सीतापुरबाट नचिनेको कुनै केटाको आवाजमा । मैले अनुमान गरें र बिस्तारै सवैलाई उठाएर भनें कि बा त बिरामी हुनुभएको छ र बेहोससमेत हुनुहुन्छ रे । सवै फोन गर्न थाले र घरमा दर खान आउन नभ्याएको भाइले पनि फोन गरेर त्रासदीपूर्ण तर सम्भावित धु्रवसत्यलाई अनुमान गर्यो । हामीले सीतापुरमा बासँगै रहेको भाइ हिमालयलाई बालाई जसरी पनि काठमाडौँ लिएर आउन भन्दा उसले अब औषधि गर्नतिर लाग्नुभन्दा तपाईँहरू नै बालाई भेट्न छिटो आउनु भन्दा मैले त्यतिबेरचाहिँ आकाश खसेजस्तै ठानेँ । सायद त्यसैले होला, युधिष्ठिरले बालाई आकाश मानेको जस्तो लाग्यो । तर आशा बाँकी थियो अझै हुनुहुन्छ कि भन्ने । एकछिनपछि भाइले करिब करिब सङ्केत गर्यो कि अब बा हुनुहुन्न । त्यो समयको म अहिले पनि कल्पना गर्न सक्दिन , कस्तो भयो मेरो मनमा । वास्तवमा जीवनमा बाको महत्व मैले त्यतिबेर अनुभूत गरें ।
अहिले त्यही भाइ पनि सडक दुर्घटनामा पर्यो रे घोडेजात्राको दिन अर्थात ६९ साल चैत्र २८गते हामीलाई यतै छोडेर सदाका लागि त्यस्तो ठाउँमा गयो जहाँ बा पहिले नै पुगिसक्नु भएको छ । भनौँ बाको सेवाका लागि ऊ नै पहिले गयो । त्यसपछि आमाले छोडेर जानु भयो । लाग्छ, म एक्लै यस संसारमा छु र ढिलो चाँडो त्यही जानु छ जहाँ बा आमा, गुरुहरु, सासु, ससुरा र भाइ गइसक्नु भएको छ । संसार अनित्य छ तर पनि सत्य के हो भने म छु र मेरा बा आमाको अस्तित्व यस संसार छ ।
यो कुनै गुनासो गर्न वा बिलौना गर्नका लागि कथेको कथा होइन । मात्र बा भन्ने ईश्वरको अवतारको निर्वाणप्राप्तिको एउटा सम्झना मात्र हो । अर्थात मेरो बा रामप्रसाद उपाध्याय अधिकारीको मोक्षको एउटा सम्झनामात्र हो । न कुनै दम्भ, न कुनै विषाद, न कुनै आकाङ्क्षा, न कुनै छलछाम । ८५ वर्षको आयुसम्मको आफ्नो लामो जीवन यात्रामा । आफ्नो सिन्धुली र रामेछाप अर्थात पुरानो पूर्व २ नम्बर क्षेत्रमा शिक्षा र सामाजिक कामका लागि दानवीरका रुपमा प्रख्यात बाले २००८ र २०१५सालमा नै हाइस्कुल सञ्चालनार्थ उसैबेलामा रु १ हजार पटक पटक दिनु भएको रहेछ ।
ग्वाल्टार, तीनमाने, बतासे, राम्चे, किराँते, फलामे, बाँझे, तीनपाटनमा विद्यालय खोल्दा लाग्ने खर्चसमेत बेहोर्ने मेरा बाले हामीलाई कहिल्यै पनि ती कुरामा घमण्ड नगर्न सम्झाइरहनु भयो । म नियतिले विद्यालय शिक्षक हुनु र शिक्षक शिक्षाका लागिमात्र खोलिएको काठमाडौँ शिक्षा क्याम्पसको संस्थापकसमेत हुनुमा उहाँको त्यही शिक्षाप्रतिको पुरानो लगावले नै मनोवैज्ञानिक काम ग¥यो कि भन्ने पनि लाग्छ ।
आज बाको महाप्रस्थानको झन्डै १४ वर्षतिर( तीन दिन बाँकी छ १४वर्ष पुग्न) आइपुग्दा र आफैँलाई समयसँग फर्केर हेर्दा लाग्छ—के साँच्चै मेरो बा यस दुनियाँमा हुनुहुन्न त ? सत्य त त्यही हो, हुनुहुन्न । तर लाग्छ कतै मलाई बोलाइ रहनु भए जस्तो यसो उभिएर र दाहिने हातको चोरी औँलो यसो उठाएर, मन्द मन्द हाँस्दै यसो भन्दै रहनु भएको त होइन?परोपकार पुण्याय पापाय परपीडनम् । यो हेक्का राखेस् । तँ म नै हुँ र म नै तँमा सरेको हँु । म कतै गएको छुइन र पनि तैँले मलाई देख्न सक्दैनस, म तँलाई देखिरहेको छु । तँ आफ्नो कर्तव्यबाट कतै च्यूत नहुनू ।
बा आमा नै साँच्चै देवता र देवी हुन् । कल्पनाका देवी देवताका धेरै बखान सुनिन्छन् तर जन्म दिने माता पिता भन्दा ठूलो कोही हुँदैन र त हाम्रो सँस्कृतिमा माता र पितालाई सम्झने तिथिहरु राखिएको छ। मातातीर्थ औँशी, कुशेऔँशी, एकोदिष्ट श्राद्धका लागि निर्वाण तिथि र पार्वण श्राद्धका लागि सोह्रश्राद्ध पक्ष दसैँ अघिको सोह्रदिन मेरा बाको सम्झनामा यी शब्दहरुद्वारा सम्झन सकेँ । सूर्य चन्द्र रहुन्जेल प्रत्येक बा र आमाको सेवा सन्ततिले गरुन् र जब यो संसारबाट बा आमा जानुहुन्छ, सायद आकाशमा कतै ताराको रुपमा चम्कँदै आफ्ना सन्ततिका अनेक स्वरुपलाई नियालिरहनु हुनेछ ।
प्रतिक्रिया दिनुहोस्