Logo २९ चैत्र २०८२, आइतबार | Mon Apr 13 2026


धरानपछि काठमाडौंको पालो !

डेंगीले हालसम्म १२ जनाको मृत्यु, नियन्त्रणमा सरकार उदासीन

13.9k
Shares

काठमाडौं । पहिलो मनसुनसँगै सुरु भएको डेंगी संक्रमणको जोखिम थप तीन महिनासम्म रहने आकलन गरिएको छ।

राष्ट्रिय इपिडिमियोलोजी तथा रोेग नियन्त्रण महाशाखाले कात्तिकसम्म डेंगी संक्रमणको जोखिम रहने आकलन गरेको हो। इपिडिमियोलोजी महाशाखा कीटजन्य रोग शाखाका प्रमुख डा. गोकर्ण दाहालले पानी पर्ने क्रम जारी रहेकाले कात्तिकसम्म डेंगीको जोखिम रहने आकलन गरिएको बताए।

सुनसरीको धरान र आसपासमा ज्यानै लिनेगरी डेंगी संक्रमण फैलिए पनि अन्यत्र जोखिमपूर्ण अवस्था नआएको उनको भनाइ छ। जेठयता डेंगी संक्रमणका कारण मृत्यु भएका १२ जनामध्ये धरानका मात्रै ११ रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी धरानका छन्। त्यहाँ जोखिम कम भए पनि संक्रमण धेरैलाई भएको र कतिपय उपचाररत रहेको बताइएको छ। देशभरिमा हालसम्म १६ हजार २ सय ६७ जनामा डेंगी संक्रमण भइसकेको महाशाखाको तथ्यांक छ।

सबैभन्दा बढी सुनसरीमा ८ हजार ४ सय ५२ जना, त्यसपछि मोरङमा १ हजार ८ सय ७७ जना, धादिङमा १ हजार ७ सय ५७, झापामा ९ सय २६ जना, काठमाडौंमा ३ सय ९० जनामा संक्रमण देखिएको छ।

तथ्यांकअनुसार हालसम्म चार जिल्लामा ५ सय भन्दा बढी संक्रमित भेटिएका छन्। संक्रमण भने ७७ जिल्लामै फैलिएको महाशाखाको भनाइ छ।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।