६ माघ २०८१, आइतबार | Sun Jan 19 2025


छापिएको २ लाख लाइसेन्स लिन आएनन् सेवाग्राही


6.578k
Shares

काठमाडौं । कतिपय सेवाग्राहीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) पाउन डेढ वर्षसम्म कुरिरहँदा लाखौँ सेवाग्राहीले भने छापिएर आएको अनुमतिपत्र लिएका छैनन् । अहिले झन्डै दुई लाखभन्दा बढी अनुमतिपत्र थन्किएर रहेको एकान्तकुनाको यातायात व्यवस्था कार्यालयले जनाएको छ ।

कतिपय सेवाग्राहीले एउटा वर्गभन्दा थप वर्गको अनुमतिपत्र लिएकाले, कतिपय विदेश गएकाले र कतिपय काठमाडौं उपत्यकाबाहिर गएकाले छापिएर आइसकेको अनुमतिपत्र बुझ्न नआएका हुन् । अहिले सेवाग्राहीले चालक अनुमतिपत्र नवीकरण गरेपछिको एकरडेढ वर्षमा मात्रै अनुमतिपत्र पाउने अवस्था रहेको जनाइएको छ ।

धेरै सेवाग्राहीले एउटा अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएर त्यो नआउँदै दोस्रो वर्गको सवारी साधनको अनुमतिपत्रका लागि परीक्षा दिने गरेको कार्यालयका प्रमुख राजकुमार कपालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ छापिएर आएपछि सेवाग्राहीले नवीकरण गर्न दिएको अनुमतिपत्र चाहँदैनन् र वर्षौँसम्म त्यसै रहन्छ ।’

एकै समयमा नवीकरणका लागि पनि आउने र अर्को प्रकारको ुट्रायलु पास गरेर नयाँ लिने सेवाग्राहीको सङ्ख्या धेरै रहेको छ । पुरानो रद्द गरेर मात्रै नयाँ छापिने व्यवस्था नहुँदा एउटै व्यक्तिको एकै समयमा दुई वटा अनुमतिपत्र छापिने गरेको उहाँले बताउनुभयो । राज्यले दोहोरो परिचयपत्र छाप्नु पर्दा घाटा र अर्कोतर्फ यातायात कार्यालयमा अनुमतिपत्र बढी हुँदा व्यवस्थापनमा समस्या हुने गरेको प्रमुख कपालीले बताउनुभयो ।

एकै समयमा एउटै व्यक्तिको दुई वटा अनुमतिपत्र हुँदा वितरण गर्नका लागि धेरै जनशक्ति लाग्ने गरेको उहाँको भनाइ थियो । प्रमुख कपालीले भन्नुभयो, ‘अहिले हामीसँग अनुमतिपत्रको सङ्ख्या दुई लाख छ तर एक दिनमा लिन आउने पाँच सय जना छन् ।’ अहिले कार्यालयमा तीनरचार वर्ष पुराना धेरै अनुमतिपत्र रहेका छन् । कतिपय सेवाग्राहीको अनुमतिपत्र लिन नआउँदै अवधि सकिने गरेको उहाँले बताउनुभयो ।

एकातिर अनुमतिपत्र छापिएर आउनै एक वर्ष बढी लाग्ने र अर्कातिर सेवाग्राही छापिएर आउनासाथ नआउने हुँदा धेरैभन्दा धेरै अनुमतिपत्र थन्किने गरेको कार्यालयमा कार्यरत कर्मचारीको भनाइ थियो । अनुमतिपत्र लिन आउँदासम्म अवधि सकिएको भन्दै धेरै सेवाग्राही कर्मचारीसँग झगडा गर्ने गरेको देखिन्छ । कहिले आउँदा अनुमतिपत्र आएको छैन भन्ने र छापिएर आउँदा पहिले नै अवधि सकिने भन्दै उनीहरूले आक्रोश पोख्ने गरेका हुन् ।

कार्यालयले विभागबाट आउनासाथ वितरण गर्ने भए पनि छापिएर आउनै लामो समय लाग्ने गरेको प्रमुख कपालीले बताउनुभयो । सम्बन्धित व्यक्ति आफैँ पनि नवीकरणका लागि निवेदन दिएर तीनरचार वर्षमा आउँदा अवधि सकिने गर्छ ।