Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


कमजोर पार्टीका शक्तिशाली दाहाल


3.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र पार्टी तथा सत्ता राजनीतिमा एकपछि अर्को गर्दै शक्तिशाली बन्दै गएका छन्।

१० वर्षे हिंसात्मक आन्दोलनलाई १२ बुँदे समझदारीमार्फत शान्तिप्रक्रियामा बदलेका दाहाल त्यसपछिका डेढ दशकमा तीनपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालिसकेका छन्। तर, तिनै दाहालको नेतृत्वमा रहेको (नेकपा माओवादी केन्द्र नेकपा माओवादी हुँदै हाल माओवादी केन्द्र) भने कमजोर बन्दै गएको छ।

१२ बुँदे समझदारी हुँदै पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ २ सय ४० सिटमध्ये १ सय २० निर्वाचन क्षेत्रमा माओवादी एक्लैले जितेको थियो। २०७९ सालको निर्वाचनमा कांग्रेससहित पाँच दलको टेको समाउँदा पनि माओवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक दुवैतर्फ गरी ३२ सिटमा सीमित रहनुपर्यो। तापनि माओवादी केन्द्रका अध्यक्ष दाहाल नै मुलुकको कार्यकारी प्रमुख (प्रधानमन्त्री) को जिम्मेवारीमा छन्।

प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल कांग्रेसलाई विश्वासमा लिएर सरकारको नेतृत्व गर्दै आएका दाहाल सत्ता राजनीतिमा थप बलशाली बन्दै गएका छन्। गत मंसिरमा प्रदेश प्रतिनिधिसभा निर्वाचनपछि दाहाल सरकारको नेतृत्वमा पुगेका हुन्।

यसबीच दाहालले नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चाबाहेक सबै दललाई आफू नेतृत्वको सरकारमा सामेल गराइसकेका छन्। आफू नेतृत्वको सरकारले नक्कली भुटानी शरणार्थी प्रकरण, सुन तस्करी तथा ललिता निवास जग्गा प्रकरण सुरु गरेको छानबिनले सुशासनको पक्षमा दृढतापूर्वक उभिएको दाहालले बताउँदै आएका छन्।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।