Logo ३० चैत्र २०८२, सोमबार | Mon Apr 13 2026


दावाको किर्ते नागरिकतामा अनुसन्धान भएन

गिरोहको जालोमा कर्मचारीको सेटिङ

1.7k
Shares

काभ्रे । सय किलो सुन तस्करीमा संलग्न दावा छिरिङ भनिने निमा तामाङले झुटो विवरण पेस गरेर लिएको नागरिकताको अनुसन्धान नै सुरू हुन सकेको छैन ।

५ वर्षअघि गृह मन्त्रालयमा बुझाएको प्रतिवेदनसमेत गायव बनाउँदै छानबिन नगरेको गृह प्रशासनले नागरिकता दिने कर्मचारीका बारेमा समेत सोधपुछ गरेको छैन ।

‘सर्वसाधारणले नागरिकता बनाउँदा भएका प्राविधिक त्रुटिमा संलग्नलाई केरकार गर्ने, मुचुल्का बनाउन लगाएर दुःख दिने अनि मुद्दा समेत दर्ता गरेर थुन्ने प्रशासन ३ सय ५० वटा नागरिकताको अनुसूची गायव बनाउने कर्मचारीका बारेमा छानबिन गर्दैन भने झुटो विवरण पेस गर्नेलाई कसरी अनुसन्धान गर्छ ?’– जिल्ला प्रशासन कार्यालयकै एक कर्मचारीले नेपाल समाचारपत्रसँग भने–‘राजनीतिक दल, गृहमन्त्री, गृह मन्त्रालयका अन्य तहका कर्मचारीको समेत मिलेमत्तो भएकाले यस्ता गम्भीर अपराधका विषयमा समेत अनुसन्धान सुरू हुन नसकेको हो ।’

गृहमन्त्रालयका प्रवक्ता सहसचिव नारायणप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले बुझाएको अनुसूचीबिनाका नागरिकताको प्रतिवेदनका बारेमा छानबिन गर्न निर्देशन दिएसकेको जानकारी दिँदै भन्नुभयो– ‘नेपाल समाचारपत्रमा समाचार प्रकाशन भएलगत्तै मैले नागरिकता महाशाखा र नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुखलाई बुझ्न भनेको छु । बुझेर प्रक्रिया अघि बढाउँछु । केही दिनमा पूर्ण जानकारी आउला ।’

सह सचिव एवं नीति, योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव रुद्रादेवी शर्माले अनुसूची गायव भएका र नागरिकतामा झुटा विवरण राखेर नागरिकता लिएको सन्दर्भमा आवश्यक अनुसन्धान सुरू गरिएको जानकारी दिनुभयो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।