काठमाडौं, भदौ २३ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठनको कुरा हल्लामात्र भएको बताएका छन् ।
जिल्ला समन्वय समिति महासंघ नेपालको प्रथम राष्ट्रिय भेलाको आज काठमाडौंमा उद्घाटन गर्दै उनले मन्त्रीहरुले राम्रो काम गरिरहेकाले फेरबदल गर्नुपर्ने आवश्यकता नै नभएको प्रष्ट पारेका हुन् ।
मुलुकमा अस्थिरता सिर्जना गर्न खोज्ने शक्तिले सरकारको अनर्गल प्रचार गरेको भन्दै उनले भ्रममा नपर्न आग्रह गरे । उनले जनचाहना अनुसारको काम गर्न स्थानीय तहका जनप्रतिनिधिहरुलाई निर्देशन पनि दिए ।
स्थानीय तहको समन्वय जिल्ला समन्वय समितिले गरेको भन्दै स्थानीय विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने उनको भनाइ थियो ।
प्रधानमन्त्री ओलीले भारतसँग बिग्रेको सम्बन्ध आफूले सुधार गरेको र छिमेकीहरुसँगको समान धारणा अनुसार अगाडि बढ्ने बताए ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तहलाई पूर्ण अधिकार दिएर विकासको गतिलाई तिव्रता दिनुपर्ने बताए ।
अहिले आफ्नो अधिकारका बारेमा जनप्रतिनिधिहरु अन्योलमा भएको भन्दै पौडेलले ऐन, कानुन परिर्माजन गरेर अधिकारलाई पूर्णता दिनुपर्ने बताए । उनले जनचाहनाअनुसार सरकारले काम गर्न नसकेको आरोपसमेत लगाए ।
भेलामा जिल्ला समन्वय समितिका प्रतिनिधिहरुले भने कानुनको अभावमा काम गर्न समस्या भएको गुनासो गरेका थिए । उनीहरुले सरकारले स्थानीय तहका प्रतिनिधिहरुको काम, कर्तव्य र अधिकारका बारेमा अन्योल भएको भन्दै त्यसबारे स्पष्ट पारिदिन आग्रह गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्