Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


फैसला ढिलो हुँदा न्याय कि अन्याय

सर्वोच्च अदालतमा १३ वर्ष पुराना मुद्दा

104
Shares

काठमाडौं । सर्वोच्च अदालतमा सबैभन्दा पुरानो देवानी मुद्दा गत असार २८ मा फैसला भयो। जुन मुद्दा १५ वर्ष पुरानो हो। २०६६ सालमा सर्वोच्चमा दर्ता भएको त्यो मुद्दा २०८० सालमा फैसला भएको हो।

२०६६ सालमा न्यायाधीशहरू ताहिर अली अन्सारी र कृष्णप्रसाद उपाध्यायको संयुक्त इजलासमा चढेको मुद्दाको फैसला २०८० सालमा न्यायाधीशहरू कुमार रेग्मी र नहकुल सुवेदीको संयुक्त इजलासबाट भएको छ। जुन मुद्दामा तल्लो अदालतबाटै भएका फैसला सदर भएको छ।

अदालत आफैं भनिरहन्छ, ‘ढिलो न्याय दिनु न्याय नदिनुजस्तै हो।’ तर, कतिपय मुद्दामा लामो समयसम्म पनि फैसला नआएको अवस्था छ। ढिलो आउने फैसलाबाट न्याय भएको छ कि छैन भन्ने कुरा अध्ययनकै विषय हुन सक्ला। ‘न्यायालयप्रति सबैभन्दा धेरै गुनासो ढिला न्याय भन्ने छ। यसको सम्बोधन गर्ने कोसिसमा छौं,’ प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले आइतबार सञ्चारकर्मीसँग भनेका थिए।

सर्वोच्च अदालतले पछिल्लो समय पुराना मुद्दा फर्स्योट गर्ने लक्ष्य लिए पनि केही पुराना मुद्दाको संख्या अझै बाँकी छ। २०६७ सालदेखिका मुद्दा सर्वोच्चमा बाँकी छन्। ती पुराना सबै खालका मुद्दालाई फर्स्योट गर्ने प्रधानन्यायाधीश कार्कीले बताए।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।