काठमाडौं, भदौ २२ । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले संघीयताअनुरुप काम गरेन भनेर कर्मचारीले मात्र नभई प्रदेश मुख्यमन्त्रीले समेत असन्तुष्टि जनाएकोबारे आफू जानकार भएको बताएका छन् ।
निजामती दिवसका अवसरमा सिंहदरबार आज आयोजित कार्यक्रममा संघीय सरकारप्रति असन्तुष्टि जनाएका मुख्यमन्त्रीहरुतर्फ संकेत गर्दै प्रधानमन्त्री ओलीले प्रदेशकै मन्त्रीचाहिँ मुख्यमन्त्रीसँग कत्तिको सन्तुष्ट छन् ? भन्दै प्रश्नसमेत गरे ।
‘केन्द्रीकृत एकात्मक प्रणालीबाट संघीयतामा जाँदा अलिअलि त्यस्तै पर्छ,’ उनले भने, ‘मुख्यमन्त्रीजीहरु छलफल गर्दै हुनुहुन्छ, केन्द्रले यसो गर्यो । त्यहीँका मन्त्रीलाई सोधौं त, मुख्यमन्त्रीले कसो गर्यो भन्छन् ?’
उनले कर्मचारीहरुलाई भ्रष्टाचार नगर्ने संकल्प गर्न आग्रहसमेत गरेका छन् ।
प्रधानमन्त्री ओलीले बिहान–बेलुका के खाउँ भन्ने गरी बसेका नागरिकलाई सम्झेर पनि भ्रष्टाचार नगर्ने संकल्प गर्न कर्मचारीहरुलाई आग्रह गरे । सरकारको प्रमुख लक्ष्य भनेकै समृद्ध मुलुक निर्माण गर्नु भएको भन्दै उनले वर्तमान सरकारबाट कोही पनि सशंकित बन्नुपर्ने अवस्था नरहेको तर काम भने गर्नुपर्ने बताए ।
प्रधानमन्त्री ओलीले निजामती कर्मचारीका कुनै पनि ट्रेड युनियन खारेज नगरिने प्रष्ट पारे ।
कार्यक्रममा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारीले राज्यको नीति निर्देशनमा रहेर काम गर्नुपर्ने बताए । कार्यक्रममा यस वर्षको निजामती पुस्कारबाट केही कर्मचारीलाई सम्मानित गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्