६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


आठ बुँदे पोखरा घोषणापत्र जारी गर्दै मुख्यमन्त्रीस्तरीय प्रथम भेला सम्पन्न


0
Shares

प्रदिप पौडेल

पोखरा, भदौ २२ । पोखरामा आयोजित मुख्यमन्त्रीस्तरीय प्रथम भेला ८ बुँदे पोखरा घोषणापत्र जारी गर्दै समापन भएको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा आइतबार हुने अन्तरप्रदेश परिषद्को बैठकमा सातै प्रदेशका मुख्यमन्त्रीहरुले एउटै एजेण्डा तय गरेका छन् ।

मुलुक संघीय संरचनामा गएर प्रदेश सरकार गठन भए पनि सरकार संचालनमा अधिकारप्राप्त नभएको भन्दै मुख्यमन्त्रीहरु एउटै स्वर दिन पोखरामा भेला भएका थिए ।

भेलाले नागरिकता वितरण, सीमा व्यवस्थापन र राहदानी वितरण बाहेक अन्य सबै अधिकार प्रदेश सरकारलाई दिनु पर्ने लगायतका बुँदा घोषणापत्रमा छन् ।

संघीयतालाई सफल बनाउन प्रधानमन्त्रीको नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनाएर व्यवस्थित गर्ने, ऐन, कार्यविधि र सचिवालय गठन गर्नुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

प्रदेशमा रहने कर्मचारीहरु सबै प्रदेशको मातहतमा संचालन हुनुपर्ने, आन्तरिक बढुवा हुँदा प्रदेशको कामलाई मुख्य मापदण्ड बनाउनुपर्ने, सबैको सरुवा, नियन्त्रण गर्ने अधिकार प्रदेश सरकारको हुनुपर्नेमा मुख्य मन्त्रीहरुको एउटै स्वर छ ।

प्रदेशले पठाएको रिपोर्ट कार्यान्वयन हुनुपर्ने, संघीय सरकारले निर्णय बमोजिम कर्मचारीलाई एउटै बास्केटमा पठाउनुपर्ने, शान्तिसुरक्षाको जिम्मा प्रदेश सरकारलाई आइसकेको अवस्थामा नागरिकता वितरण, सीमा व्यवस्थापन र राहदानी वितरण बाहेक अन्य सबै अधिकार प्रदेश अन्तर्गत दिन माग गरिएको छ ।

संघीय कानुनको अभावमा प्रदेश सरकारले कानुन बनाउन नसकेको हुँदा त्यसतर्फ सहज गराईदिन भेलाले आग्रह गरेको छ ।

राष्ट्रिय प्राकृतिक श्रोत र वित्त आयोग हालसम्म गठन नभएको हुँदा वित्तीय श्रोतको बाँडफाँड हुन नसकेकोले तत्काल आयोग गठन गर्नुपर्ने र त्यसमा प्रदेशको भूमिका रहनुपर्ने, ४० प्रतिशत संघ र बाँकी ६० प्रतिशत राजश्व हिस्सा प्रदेश सरकारलाई दिन पनि भेलाले आग्रह गरेको छ ।

योजना कार्यान्वयनको वर्गीकरण हुन नसकेकोमा त्यसतर्फ ध्यान दिँदै विकास निर्माणको वर्गीकरण हुनुपर्ने, विदेशीले प्रदेशमा अनुदान दिन चाहेमा संघीय सरकारले प्रदेश सरकारलाई स्वीकृति दिनुपर्ने पनि घोषणापत्रमा उल्लेख छ ।

प्रदेश र संघीय सरकार एकअर्काको परिपूरक भएकोले सहकार्य आवश्यक रहेको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।