
सीता पाण्डेय
पाल्पा, भदौ २२ । गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रुरु धाम रिडीमा निर्माणाधीन तीनमुखे पुल अलपत्र परेको छ । एक वर्षअघि नै पुल निर्माणको काम सम्पन्न गरिसक्नु पर्ने भए पनि अहिलेसम्म पूरा नहुँदा नागरिक निरास बनेका छन् ।
तीनमुखे पुल बनाउन सुरु भएको चार वर्ष बितिसकेको छ । नयाँ बाटो रुविना मना जेवी निर्माण कम्पनी तनहुँले २०७१ साल असार १० गते सम्झौता गरी पुल निर्माणको जिम्मा लिएको थियो । २०७४ साल असार ९ गते निर्माणको काम सम्पन्न गरी पुल हस्तान्तरण गर्ने जिम्मा कम्पनीले लिएको हो ।
पुल निर्माणको सम्झौताले कालीगण्डकी नदीले छुट्याएको सीमाना वारपार गर्न निकै असहजता खेपेका स्थानीयवासी उत्साहित भएका थिए । तर अहिलेसम्म मुख्यपिलरको केही भाग निर्माणबाहेक अर्को प्रगति देखिएको छैन ।
यस विषयमा मन्त्रालय र विभागलाई ध्यानाकर्षणसमेत गराइसकिएको स्थानीय परशुराम भट्टराईले बताए ।
हिन्दुहरुका चार धाममध्येको रुरु धाममा पुल निर्माण नहुँदा पर्यटकलाई समेत आवतजावत गर्न समस्या भएको छ । रुरु गाउँपालिका–१ का वडाध्यक्ष रामलाल बिकले पुल निर्माणको काम तत्काल सम्पन्न गर्न स्थानीयले दबाब दिइरहे पनि ठेकेदार हराउने गरेको बताए ।
स्थानीयको असहजता हटाउने र रुरु धाममा आउनेहरुलाई सहज बनाउने उद्देश्यले पुल निर्माण थालिए पनि अहिले अलपत्र पर्दा स्थानीय आक्रोसित भएका छन् । निर्माण कम्पनी, कर्मचारी, राजनीतिक दलका नेताको चलखेलका कारण पुल निर्माणको काम समयमै सम्पन्न भएको आरोप स्थानीयको छ ।
संघीय सरकारले समयमै काम सम्पन्न नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिँदै आएको छ । तर, यो आयोजना सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई भने सरकारले अहिलेसम्म न त कारबाही गर्न सकेको छ न दबाब नै दिएको छ । यसले सरकारप्रति नागरिकको भरोसा कम हुँदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्