१५ फाल्गुन २०८०, मंगलबार | Tue Feb 27 2024


तीन दलका शीर्ष नेताहरुबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी


1.326k
Shares

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरुबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको छ ।

आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच संसद्को अवरोध हटाउने विषयमा समझदारी बनेको नेताहरुले बताएका छन् ।

आज ३ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नमा प्रधानमन्त्री दाहालले सम्बोधन गर्ने र संसद सुचारु गर्ने समझदारी भएको हो । आज १ बजेका लागि बोलाइएको संसद बैठक शीर्ष नेताहरुको छलफलका कारण प्रधानमन्त्री दाहालको अनुरोधमा ३ बजेलाई सारिएको हो ।

गत हप्ता सोमबार प्रधानमन्त्री दाहालले भारतीय नागरिक प्रितम सिंहबारे लेखिएको पुस्तक विमोचन कार्यक्रममा नेपालको सरकार निर्माण गर्दा भारतसँग छलफल हुने गरेको सन्देश जानेगरी अभिव्यक्ति दिनुभएको थियो । यो भनाइलाई लिएर नेकपा एमालेले प्रधानमन्त्री दाहालको राजीनामा मागेर गत बुधबारदेखि राष्ट्रिय र प्रतिनिधि सभाको बैठक अवरुद्ध गर्दै आइरहेको छ । प्रधानमन्त्रीको राजीनामा नआएसम्म बैठक चल्न नदिने एमालेले अडान राख्दै आएको थियो ।

निरन्तर संसद बैठक अवरुद्ध भइरहेपछि प्रधानमन्त्री दाहालले आज कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीसँग समवाद गर्नुभएको हो ।