
काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नुपर्ने आवश्यक्ता औंल्याउनु भएको छ ।
निर्माण कम्पनीहरुलाई कामयावी बनाउन नसक्ने भएकाले विद्यमान सार्वजनिक खरिद ऐनमा आमूल सुधार गर्नेपर्ने उहाँको तर्क थियो ।
आइतबार ललितपुरमा आयोजित ‘सुशासन र सेवा प्रवाहमा स्थानीय तहको भूमिका’ विषयक कार्यक्रममा बोल्दै मेयर महर्जनले सार्वजनिक खरिद ऐनमा सुधार गरी निर्माण कार्यले गति लिएमात्रै पूँजीगत खर्च बढ्ने र मुलुक बन्ने समेत स्पष्ट पार्नुभयो ।
मेयर महर्जनले कन्सट्रक्सन इन्डष्ट्रीहरुको काममा सुधार ल्याउनका लागि अनुगमनको काममा कडाई गर्न पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय सतर्कता केन्द्रलगायतका नियमक निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले निर्माण कम्पनीले लिएको जिम्मेवारी अनुसारको काम अघि नबढाउँदा आफूले ठेक्का नै रद्द गर्ने चेतावनी दिएपनि सुनुवाई नभएको गुनासो गर्नुभयो ।
मेयर महर्जनले निर्माण कम्पनीहरुको काममा सुधार ल्याउनका लागि आफूले सम्बन्धित निकायमा पटकपटक आग्रह गरेपनि सो अनुसार काममा सुधार हुन नसकेको स्मरण गराउनुभयो ।
प्रतिक्रिया दिनुहोस्