Logo २१ माघ २०८२, बुधबार | Thu Feb 5 2026


मत विभाजनबाट बजेट पारित


390
Shares

काठमाडौं । सत्तारुढ दलका केही सांसद नै आर्थिक वर्ष २०८० ०८१ को बजेटको विरोधमा उत्रिएपछि प्रमुख प्रतिपक्षी एमाले संसदबाट बजेट पारित हुँदैन कि भन्ने आशामा थियो।

बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै गडबडी उत्पन्न हुने बुझाइमा रहेको एमालेले बुधबार प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८० मत विभाजन प्रक्रियाबाट पारित गर्नुपर्ने माग राख्यो। उसकै मागअनुसार मत विभाजन प्रक्रिया अपनाइयो।

बहुमतले विनियोजन विधेयक–२०८० पारित भयोे। बजेट पास हुन नदिएर सरकारलाई अप्ठेरोमा पार्ने एमालेको चाहना पूरा हुन सकेन।

विनियोजन विधेयक पारितका लागि राखिएको प्रस्तावको पक्षमा १ सय ४७ र विपक्षमा १ सय ८ मत पर्यो। मत दिन्न भन्नेमा कुनै पनि सांसद उभिएनन्। त्यसबेला प्रतिनिधिसभामा २ सय ५५ सांसद उपस्थित थिए।

यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँगै प्रस्तावको विपक्षमा उभियो।

यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।