१५ चैत्र २०७९, बुधबार | Thu Mar 30 2023


शिक्षक सेवा आयोगद्वारा फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था


0
Shares

काठमाडौं, भदौ २१ । शिक्षक सेवा आयोगले यसपटकदेखि फारम भरेको जिल्लाबाट परीक्षा दिन नपाइने व्यवस्था गरेको छ ।

यही असोज ११ गतेदेखि हुने शिक्षकको परीक्षालाई मर्यादित बनाउन फारम भरेको जिल्लाबाट नभइ फरक जिल्लाबाट परीक्षा दिनुपर्ने व्यवस्था गरेको आयोगका उपसचिव दामोदर आचार्यले जानकारी दिए ।

‘परीक्षालाई विश्वसनीय र मर्यादित बनाउन यसपटकदेखि हामीले ‘होम सेन्टर’ हटाएका हौं’–उनले भने–‘परीक्षार्थीले जुन जिल्लाबाट फारम भरेका छन्, सोही जिल्ला नभइ अर्को जिल्लामा गइ परीक्षा दिनुपर्नेछ ।’

परीक्षा सन्चालन गर्नुभन्दाअगाडि आयोगले केन्द्राध्यक्षलाई अभिमुखीकरण तालिम दिनेछ ।

आयोगले असोज ११ गते मावि, १२ गते प्रावि र १३ गते निमावि तहको परीक्षा तोकेको छ । तीनै तहको परीक्षाका लागि करिब २२५ परीक्षा केन्द्र तोकिने भएको छ ।

उपसचिव आचार्यले २२५ परीक्षार्थी बराबर एक परीक्षा केन्द्र हुने बताए । एउटा परीक्षा केन्द्रमा एक केन्द्राध्यक्ष, दुई सहायक केन्द्राध्यक्ष र ११ निरीक्षक रहनेछन् ।

परीक्षामा २० परीक्षार्थी बराबर एक निरीक्षकको व्यवस्था गरिएको उनले बताए ।

उपसचिव आचार्यले ७७ जिल्लाबाट फारम भर्ने व्यवस्था गरे पनि ३४ जिल्लामामात्र परीक्षा सन्चालन हुने बताए ।

सुरक्षा तथा यातायातको सुविधा हेरेर ३४ जिल्लामामात्र परीक्षा सन्चालन हुनेछ । आयोगले परीक्षाका लागि उत्तरपुस्तिकासमेत पठाउन थालेको छ ।

आयोगले अबको एक हप्ता सबै परीक्षा हुने जिल्लामा उत्तरपुस्तिका पठाइसक्नेछ ।

कुल १२ हजार ७५६ पदका लागि दुई लाख ७७ जना परीक्षार्थी रहेका छन् । सबभन्दा बढी प्राविमा एक लाख ५८ हजार, निमाविमा ८१ हजार र माविमा ३८ हजार परीक्षार्थी रहेका छन् ।

वर्षेनि विज्ञापन गरिने

यसैगरी, आयोगले अबदेखि वर्षेनि विज्ञापन गर्ने तयारी गरेको छ ।

रिक्त शिक्षकको दरबन्दी मगाएर वर्षेनि विज्ञापन गरी पदपूर्ति गरिने आयोगले जनाएको छ ।

आयोगले अहिले परीक्षा सकाएर शिक्षक अनुमतिपत्रको विज्ञापनपछि चैतमा पुनः शिक्षकको विज्ञापन गर्ने तयारी गरेको हो । रासस