Logo २८ आश्विन २०८३, बुधबार | Thu Oct 15 2026


भन्सार एजेन्टद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना


1.7k
Shares

काठमाडौं । भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा दुई दिनदेखि भन्सार विभागमा धर्ना गरेको छ ।

आईतवारदेखि त्रिपुरेश्वरस्थित भन्सार विभाग अगाडि संशोधित भन्सार ऐन २०६४ र नियमावली ०६४ ले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेको भन्दै धर्नामा बसेका हुन् । भन्सार एजेन्ट प्रतिनिधि संघका प्रतिनिधिहरुले भन्सार एजेन्ट प्रतिनिधिहरुलाइ राज्यले उचित व्यव्स्थापन गर्नु पर्नेमा उल्टो व्यवस्था खारेज गरेको भन्दै आन्दोलन तथा धर्ना दिनुपरेको बताए । देशभर कार्यरत ३ सय भन्दा बढी भन्सार प्रतिनिधिहरु जेठ १५ गतेबाट बेरोजगार भएको भन्दै भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था कायम गर्न माग गरेका हुन् ।

भन्सार एजेन्ट प्रतिनिधि संघ नेपालद्वारा आयोजित धर्नाका संयोजक खड्गबहादुर कार्कीले सरकारले आगामी आर्थिक वर्षको बजेटमा भन्सार ऐन संशोधन गर्दा ३ सय जनाको रोजगारी खोसिएको बताउनु भयो। उहाँले सरकारले आफ्ना मागहरु पूरा नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिनुभयो ।

धर्नामा मेची भन्सार एजेन्टका प्रतिनिधि शंकर थापाले सरकारले बजेटमार्फत षड्यन्त्रपूर्वक भन्सार एजेन्टका रुपमा काम गर्न पाउने व्यवस्था खारेज गरेको बताउनु भयो । उहाँले भन्सार प्रतिनिधिले काम गर्न गरेको व्यवस्था नै खारेज गरेर सरकारले ३ सय जनालाई सडकमा ल्याएको बताउनु भयो ।

त्यस्तै धर्नामा रहेका राष्ट्रिय भन्सार एजेन्ट परिषद् नेपालका अध्यक्ष भोलानाथ अर्यालले सरकारले आर्थिक ऐनमार्फत भन्सार एजेन्टहरु हटाएर भन्सार प्रतिनिधिहरुको रोजगारी माथि लात हानेको बताउनु भयो। उहाँले २५ देखि ३० वर्षदेखि भन्सार एजेन्ट बनेर सरकारको राजश्व संकलनमा महत्वपूर्ण योगदान दिएको बताउनु भयो।

भन्सार प्रतिनिधिहरुले पटक पटक भन्सार विभाग,अर्थ मन्त्रालयलाई ध्यानाकर्षण, ज्ञापनपत्र बुझाउँदा पनि केही सुनुवाई गर्दा बाध्य भएर आन्दोलनमा जानुपरेको बताए ।