३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


कृषिलाई प्राथमिकतामा राखेर १६ औं योजना बनाउन विज्ञहरुको सुझाव


741
Shares

काठमाडौं । कृषिलाई प्राथमिकतामा राखेर १६ औं योजना बनाउन राष्ट्रिय योजना आयोगलाई विज्ञहरुले सुझाव दिएका छन् ।

बुधवार राष्ट्रिय योजना आयोगले सोह्रौं योजना तर्जुमाको तयारीका लागि विज्ञहरुसँग गरेको छलफलमा आयोगका पूर्व उपाध्यक्ष, पूर्व सदस्य तथा विज्ञहरूले यस्तो सुझाव दिएका हुन् । आयोगले आर्थिक वर्ष २०८१/८२ देखि कार्यान्वयन गर्ने गरी सोह्रौं योजना तर्जुमाको तयारी गरेको छ ।

छलफलमा अधिकांश विज्ञहरुले १६ औं योजना बनाउँदा सम्भवना भएका क्षेत्रलाई प्राथमिकतामा राखेर महत्वकांक्षी योजना भन्दा पनि कार्यान्वयन पक्षलाई ध्यानमा राखेर योजना बनाउन सुझाव दिए । उनीहरुले अर्थतन्त्रमा देखिएका वर्तमान समस्या र चुनौतिहरूको सामना गरी राष्ट्रिय अर्थतन्त्र बलियो बनाउन सक्ने गरी सोह्रौं योजना बनाउनुपर्ने आवश्यकता रहेको बताए । विज्ञहरुले तथ्याङ्क विभाग र योजना आयोगको संरचनात्मक रुपान्तरण र स्वायत्तता बनाउन आवश्यक रहेको पनि बताए । उनीहरुले राष्ट्रिय गौरवका आयोजनाहरु गौरव गर्न लायक नभएको भन्दै २४ वटा राष्ट्रिय गौरवका आयोजनाहरु समयमा नै कार्यान्वयन हुनेगरी योजना बनाउन सुझाव दिए । योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटाले अनुदानको रकम दुरूपयोग रोक्ने र प्रविधि प्रयोगलाई उच्च प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताउनु भयो । उहाँले नेपालको सामाजिक र पूर्वाधारको सूचक सकारात्मक रहेकाले अब कृषि क्षेत्रलाई प्रमुख प्राथमिकता दिनुपर्ने बताउनु भयो।

उहाँले १६ औं योजना वर्तमान अतर्थतन्त्रको चुनौति र समस्यालाई विश्लेषण गरेर बनाउनु पर्ने बताउनु भयो । पूर्वगभर्नर तथा पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले राष्ट्रिय योजनालाई बलियो बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले आयोगका पदाधिकारीहरुको कार्यकाल पाँच वर्षको बनाउन जरुरी रहेको बताउनु भयो । उहाँले प्रधानमन्त्री हट्ने बित्तिकै उपाध्यक्ष लगायत सदस्यसमेत परिवर्तन हुने व्यवस्था हटाउनुपर्ने बताउनु भयो।

त्यस्तै, आयोगका पूर्वसदस्य प्रा.डा.गोविन्द नेपालले योजना आयोगलाई स्वायत्तता संस्था बनाउन आवश्यक रहेको बताउनु भयो। उहाँले मुलुकको अर्थतन्त्रको मुख्य जिम्मेवारी लिएको संस्था भएकाले योजना आयोगलाई स्थायी र स्वायत्तता संस्थाको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रमुख डा. शिवराज अधिकारीले आयोगले प्रकाशन गर्ने कितावहरू लोक सेवा परीक्षाका लागि अध्ययन गर्न मात्रै उपयोगी भएको बताउनु भयो । उहाँले योजना आयोगले बनाएका योजना उत्पादन र अर्थतन्त्रमा योगदान दिने खालको बनाउन जोड दिनुपर्ने बताउनु भयो।