
काठमाडौं । वित्तीय अपराधदेखि महिला हिंसाका पीडित न्याय माग्दै सडकमा ओर्लिएका छन् । पीडितमध्येकै केही राज्य नै पीडक बनेको दोष लगाइरहेका छन् । यसैमध्ये २० वर्षीया विवाहिता छोरी आरतीलाई दाईजो नपाएको निहुँमा परिवारले यातना दिएर मारेको घटनालाई प्रहरीकै मिलेमतोमा आत्महत्या गराइएको माईती पक्षको आरोप छ । घरपरिवारविरुद्ध माईतीपक्षले हालेको जाहेरी प्रहरीले लिन नमानेपछि राज्यकै संयन्त्रप्रति आफूहरुको विश्वास नरहेको उनीहरु बताउँछन् ।
२०७८ असार २७ गते बिबाह बन्धनमा बाँधिएकी धनुषाको नगराइन ८ खिरखिरियाका बिनोदप्रसाद साहकी २० वर्षीया छोरी आरती साहले आफ्नै कोठाको पंखामा झुण्डिएर आत्महत्या गरेको खबर माईती पक्षलाई दिएको थियो । तर, आफ्नी छोरीले आत्महत्या नभई उस्को घर परिवारले दाईजो निहुँमा हत्या गरेको आरतीको माईती पक्षको दाबी छ । माईती पक्षले आरतीका सासु-ससुरा, ज्वाइँविरुद्ध जाहेरी दिन खोज्दा प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको मृतक आरतीका मामा सन्तोषकुमार साज बताउनुहुन्छ ।
प्रहरीले जाहेरी लिन नमानेपछि माईती पक्षले मृतक आरतीको शवलाई जिल्ला प्रहरी कार्यालय धनुषाको अगाडि राखेर आन्दोलन गरेको थियो । चर्को दवावपछि प्रहरीले कर्तव्य ज्यान मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान गर्ने प्रतिवद्धता जनाए पछि मात्र शवको दाहसंस्कार गरिएको थियो । पोस्टमार्टम रिपोर्टमा मृतक साहको मृत्यु आत्महत्याबाट भएको हुन सक्ने उल्लेख गरिएको छ । मृत्युको कारण किटेर उल्लेख नगरिनु भनेकै हत्या भएको पुष्टि हुनु हो भन्ने माइती पक्षको दाबी छ ।
प्रहरीले आरती साहको शव प्रकृति मुचुल्का तयार गरी सुन्दर यादवको लास बुझ्न दवाव दिएको आरतीको माइती पक्ष बताउँछ । जेठ ३२ मा पिडित पक्षलाई जिल्ला प्रहरी कार्यालय बोलाइएको थियो । अनुसन्धान प्रतिवेदनमा कर्तब्य ज्यान मुद्दा नभई आत्महत्या दुरुत्साहन मुद्दा चलाउने गरी उजुरी सच्याउन प्रहरीले दवाव दिएको थियो । प्रहरीको सल्लाह नमानेपछि प्रहरीले अमानवीय ढंगले कुटपिट गरेको आरोप पीडितको छ ।
धनुषा जिल्ला अदालतका न्यायाधिश रामप्रसाद न्यौपानेको एकल इजलासले आरतीका पति मोतिबाबु, ससुरा मदनमोहनलाइ पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ । आरतीको माइती पक्षले दिएको जाहेरीको आधारमा प्रहरीले मोतिबाबु र मदनमोहनलाइ पक्राउ गरी अनुसन्धान गरेर प्रतिवेदन तयार गरी सरकारी वकिलको कार्यालयले जिल्ला अदालत धनुषामा कर्तव्य ज्यान मुद्दा चलाएको थियो ।
काठमाडौबाट गएको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पनि घटनाको अनुसन्धान गरिरहेको बताइएको छ । धनुषामा भएको घटनाका पीडित काठमाडौंमा आएर अनशन बस्न किन बाध्य हुन्छ ? पीडितले न्याय पाउँदैन या सडकमा पुगेर दवाव दिन सक्यो भने झूटलाई सत्य प्रमाणित गर्न सकिन्छ भन्ने भ्रम आमनागरिकमा बढेको छ ।
प्रतिक्रिया दिनुहोस्