२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गर्‍यो : स्वर्णिम वाग्ले


169
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. स्वर्णिम वाग्लेले अहिलेको बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताउनुभएको छ ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै वाग्लेले वर्तमान सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले अथाह सम्भावना भएको आईटी क्षेत्रलाई बेवास्ता गरेको बताउनुभएको हो । उहाँले नेपालको अथाहा सम्भावना भएको भनिएको पर्यटन क्षेत्र भन्दा पनि ठूलो सम्भावना आईटी क्षेत्रमा रहेको बताउनुभयो ।

सांसद वाग्लेले सरकारले बजेट आईटी क्षेत्र प्राथमिकता दिनसके मात्रै पनि आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउन सकिने बताउनुभयो । उहाँले सरकार आईटी क्षेत्रले मुलुकलाई समृद्ध बनाउने बाटोतर्फ लैजाने बजेटमार्फत कुनै सोच विचार नगरेको दाबी गर्नुभयो ।

सांसद डा.वाग्लेले नेपालमा आईटी क्षेत्रको सम्भावना र विदेशको काम गर्ने नेपाली कति छन् भन्ने अध्ययन अहिलेसम्म नगरेको बताउनुभयो । उहाँले निजी क्षेत्रबाट भएको अध्ययनको प्रारम्भिक तथ्यांकहरू सुन्दा नेपालको आर्थिक ‘लेन्डस्किप’मा नै सानोतिनो भूकम्प ल्याउने अनुमान गर्न सकिने बताउनुभयो ।

सांसद वाग्लेले नयाँ रूपान्तरणकारी सेक्टरमा सरकारले झारा टार्ने गरी डिजिटल अर्थतन्त्र अपनाइने छ भन्ने भाषामा मात्रै खुम्चिएको आरोप लगाउनुभयो । उहाँले आईटी क्षेत्रमा जुन रूपान्तरणकारी सम्भावना त्यसलाई अहिलेसम्म सरकारले सम्बोधन गर्न नसकेको बताउनुभयो । उहाँले निजी क्षेत्रले निकालेको आँकडाअनुसार करिब सात हजार ६३७ वटा आईटी कम्पनीहरू कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता रहेको बताउनुभयो ।

सांसद वाग्लेले बरिब सात हजार जतिले ट्याक्स तिर्ने गरेको भन्दै १०६ वटा एक्स्पोर्ट ओरेन्टेड आईटी एक्सपोर्टर रहेको जानकारी दिनुभयो । उहाँले फ्री लेन्सर भएर कोठामै बसेर काम गर्नेहरू ६६ हजार ५०९ रहेको बताउनुभयो । उहाँले यसरी काम गर्नेहरुको औसत आम्दानी लगभग चार हजार ७२३ डलर रहेको भन्दै प्रतिवर्ष पाँचहजार डलर आम्दानी गरिरहेको उल्लेख गर्नुभयो ।

सांसद वाग्लेले अहिले युद्ध भइरहेको युक्रेन मुलुकको वार्षिक औसत प्रतिव्यक्ति आय पाँच हजार डलरकै हाराहारीमा रहेको बताउनुभयो । उहाँले आईटी क्षेत्रमा शुरुवात लेबलमा नै करिब ३ हजार, मध्यम लेबलमा ६ हजार ३९५ र सिनियर लेबलकाहरूले नेपालमा नै बसीबसी १५ हजार ३२२ डलर आम्दानी गर्ने गरेको बताउनुभयो । उहाँले १५ हजार ३२२ प्रतिव्यक्ति आय रूस, चीन र मलेसियाको प्रतिव्यक्ति आयभन्दा माथि भएको दाबी गर्नुभयो ।

सांसद वाग्लेले यति डाइनामिक सेक्टर नेपालमा रहेको दाबी गर्नुभयो। उहाँले चिया खाएर कुनामा बसेर काम गरिरहेको मान्छेले दुनियाँको बिग इकोनोमीसँग काम गरिरहेको बताउनुभयो । उहाँले अहिले करिव ५१५ मिलियन डलरको आम्दानी नेपालमा बसेर वार्षिक रुपमा गराइरहेको बताउनुभयो ।

सांसद वाग्लेले कम्पनीगत हिसाबले २०१ र फ्रि लेन्सरहरुबाट करिब ३१४ मिलियन रहेको बताउनु भयो। उहाँले जुन गत साल पर्यटनबाट आयको ४६ खर्ब आम्दानी भएकोमा आईटीबाट मात्रै ६० अर्ब आएको बताउनु भयो। उहाँले यस्तो क्षेत्रलाई सरकारले कुनैपनि शिर्षकमा प्राथमिकता नदिएको भन्दै चिन्ता व्यक्त गर्नुभयो ।

सांसद वाग्लेले आईटी क्षेत्रमा २०१९ साल देखिको ऐनलाई नै टेकेर काम गरिरहेको बताउनुभयो । उहाँले आईटी क्षेत्रको विकासका लागि भएका ऐन तथा नियमलाई सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

सांसद वाग्लेले सरकारले ल्याएको बजेट आर्थिक सुधारको नेतृत्व आवश्यक संस्थागत अभिमुखिकरण र तयारी नभएको बताउनुभयो । उहाँले आर्थिक सुशासन र स्वच्छ नियमनको जगमा गतिशित प्रतिष्पर्धात्मक अर्थतन्त्र बनाउन विश्वनिय जग नदेखिएको पनि बताउनुभयो । उहाँले बजेटको भाषणमा शुद्धाशुद्धी मिठास मिलाएर प्रस्तुत गरे पनि डर लाग्दो हेलचेक्राँई गरि ल्याएको उल्लेख गर्नुभयो ।