५ बैशाख २०८२, शुक्रबार | Sat Apr 19 2025


निर्मला पन्त हत्याः प्रारम्भिक अनुसन्धानमै प्रहरी चुक्यो : आयोग


0
Shares

दुर्गा उपाध्याय (इमेज)

कन्चनपुर, भदौ २१ । निर्मला पन्तको हत्या प्रकरणमा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भएको राष्ट्रिय मानवअधिकार आयोगले ठहर गरेको छ ।

बिहीबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रिय मानवअधिकार आयोगका सदस्य एवं प्रवक्ता मोहना अन्सारीले आयोगको प्रारम्भिक प्रतिवेदनमा निर्मलाको हत्यामा प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा त्रुटि भेटिएको बताइन् ।

प्रवक्ता अन्सारीले जुन प्रक्रियाबाट निर्मला घटनाको अनुसन्धान हुनुपर्ने हो, त्यो तरिकाले नभएको भन्दै प्रारम्भिक अनुसन्धानमै प्रहरी चुकेको बताइन् ।

एउटा घटनालेमात्रै यस्तो अवस्था नभएको बताउँदै यसभित्र अरु थुप्रै घटनाहरु जोडिएको उनको जिकिर छ ।

महिलामाथि हुने हिंसाका घटनालाई प्रहरीले अरु अपराधजस्तो संवेदनशीलरुपमा नहेर्ने भएकाले पनि बलात्कारजस्ता जघन्य घटनाहरु बढ्दै गएको उनको भनाइ छ ।

यसअघि, मानवअधिकार आयोगको ७ नम्बर प्रदेश कार्यालयले १३ वर्षीया निर्मलाको बलात्कारपश्चात् हत्या गरिएको घटनाकाबारेमा सूक्ष्म तरिकाले अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो ।