१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


व्यवसायीले आफैं हटाए टिकट काउण्टरको बोर्ड


6.812k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंलाई स्वच्छ, सफा र व्यवस्थित गर्ने अभियानलाई तीब्र बनाएको छ । अनाधिकृत पार्किङ, व्यावसायिक होर्डिङ बोर्डमा कडाई गरेको महानगरले सौन्दर्यको बाधक बनेका तार हटाएको छ । अधिकांशले महानगरको अभियानलाई सकारात्मक मानेका छन् ।

अनाधिकृत बनाइएका घर टहरा, जथाभावी रुपमा राखिएका होर्डिङबोर्ड, पार्किङलगायत शहर व्यवस्थित गर्ने अभियान अन्तर्गत महानगरले नयाँ बसपार्क बाहेकका ठाउँमा राखिएका टिकट काउन्टरका बोर्ड हटाउन सुरु गरेको छ । नगर प्रहरीले सुन्धारा, गौशाला, कलंकी, गोंगबु क्षेत्रमा रहेका टिकट काउन्टरका बोर्ड हटाएपछि कुरुप बनेको सो क्षेत्र सफा हुने आशा पलाएको छ ।

महानगरपालिकाले महानगरभित्र तथा चक्रपथ आसपास रहेका टिकट काउन्टरहरूका बोर्ड हटाउँदा केहीले भने आफंै हटाएका थिए । यी बाहेक नयाँबसपार्कमा यात्रुबाहक बसले यात्रु चढाउने र ओराल्ने स्थान पनि तय गर्नुका साथै काठमाडौंबाट बाहिर जाने सवैखाले सवारी साधन गोंगबुस्थित नयाँ बसपार्कबाट मात्रै सञ्चालन गर्ने नियम लागू गरेको छ ।

अबदेखि काठमाडौंबाट बाहिर जाने लामो तथा मध्यम दूरीका बस तथा माइक्रो बसहरु गोंगबु बसपार्कबाट छुट्ने व्यवस्था लागू भएको छ । यसअघि महानगरपालिकाले उपत्यका ट्राफिक प्रहरीसँगको समन्वयमा उक्त करिब ५ करोड खर्च गरी दरबारमार्गको सौंदर्यताका लागि पार्किङ , फुटपाथ, र साइन बोर्डहरु हटाएको थियो । त्यतिमात्र नभई काठमाडौंको बागबजार क्षेत्रमा रहेको अव्यव्स्थित पार्किङ, घरघरमा राखिएको होर्डिङ बोर्डको साइज र मापदण्ड तय गरेपछि बागबजार सफा भएको र व्यवस्थित भएको व्यवसायी जयराम तिमल्सिना बताउनुहुन्छ ।

शहर नै कुरुप हुने गरी सडकका पोल पोलमा टाँगिएका तारहरु व्यवस्थित गर्ने कार्यलाई महानगरले निरन्तरता दिएको छ । महानगरपालिकाको टोली बिहानदेखि बेलुकीसम्म यही कामको लागि खट्ने गरेको छ । सोही क्रममा स्थानीयल अवरोध नगरेका पनि होइनन् तर आफनो अभियानपछि नहटेको महानगरका कारण काठमाडौंको स्वरुप परिवर्तन भएको छ ।

कुनै समय फुटपाथका कारण हिँड्न समेत मुश्किल भएको पैदलयात्रीका लागि अहिले भने केही सहज भएको छ । दशकौंदेखि अव्यस्थित, फोहोर काठमाडौं सफा गर्न महानगरले चालेको कदम प्रशंसनीय छ ।