Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


शैक्षिक स्तर अभिवृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन


208
Shares

दाङ । प्रधानमन्त्री पुष्पकमल दाहालले देशलाई मर्यादित, विकसित र अग्रगामी दिशामा अघि बढाउन र आत्मनिर्भर बनाउन शिक्षण संस्थाहरुको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

बुधबार नेपाल संस्कृत विश्वविद्यालयको पाँचौं दीक्षान्त समारोहलाई दाङमा सम्बोधन गर्दै विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री दाहालले विश्वविद्यालयका कर्मचारी तथा विद्यार्थीलाई राजनीतिक आस्था एवं दलगत भन्दामाथि उठेर शैक्षिक तथा प्राज्ञिक स्तर अभिवृद्धि गर्न निर्देशन दिनुभयो । उहाँले आफू नेतृत्वको सरकारले यस विश्वविद्यालयका कार्य योजनाहरूलाई सघाउन तयार रहेको समेत बताउनुभयो ।

नेपालभित्र गुणस्तरीय शिक्षाको विकास एवं प्रर्वद्धनका लागि विश्वविद्यालयहरूबीच प्रभावकारी समन्वय र प्रतिस्पर्धा हुनुपर्ने प्रधानमन्त्री दाहालको भनाइ छ । यस्तै, नेपालमा उच्च शिक्षाको विकास, विस्तार र स्तरीकरणमा नेपाल संस्कृत विश्वविद्यालयले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।

प्रधानमन्त्री दाहालले विभिन्न कारणवश विश्वविद्यालयको दीक्षान्त समारोह १२ वर्षपछि भएको भन्दै विद्यार्थीहरूको भविष्यसँग गाँसिएको यस्ता कार्यक्रमहरू निरन्तर गर्न विश्वविद्यालय प्रयत्नशील रहने पनि बताउनुभयो । विश्वविद्यालयबाट विद्यावारिधि, आचार्य, शास्त्री, एकवर्षे शिक्षा शास्त्री र बिएमएस उत्तीर्ण गरेका ४ हजार ७ सय ७३ मध्ये निवेदन दिएका ५ सय ७५ जना विद्यार्थी दीक्षित भएका छन् ।

नेपाल संस्कृत विश्वविद्यालय बेलझुण्डीमा विभिन्न समयमा आन्दोलन तथा तालाबन्दीका कारण दीक्षान्त समारोह हुन सकेको थिएन ।