२४ बैशाख २०८२, बुधबार | Wed May 7 2025


राजमार्गमा जडान गरिएको ‘राडार गन’ बेवारिसे अवस्थामा


4.94k
Shares

काठमाडौं । राजमार्गमा गुड्ने सवारी साधनको गति नियन्त्रण गरी दुर्घटना न्यूनीकरण गर्न जडान गरिएका ‘राडार गन’ बेवारिसे अवस्थामा पुगेका छन् ।

मधेस प्रदेश सरकारको आर्थिक सहयोगमा प्रदेशका आठ जिल्लालाई लक्षित गरेर पाँच ठाउँमा जडान गरिएका गति मापन यन्त्र दुई वर्ष नपुग्दै बिग्रेका हुन् ।

बाराको पर्सा राष्ट्रिय निकुञ्ज आधार क्षेत्र, काठमाडौं, तराई मधेस द्रुतमार्ग छेउ अनि सप्तरी, सिराहा र महोत्तरीमा गरी पाँच ठाउँमा यन्त्र जडान गरिएको थियो । प्रतिराडार गन झण्डै २६ लाख खर्चेर १ करोड ३० लाखमा प्रदेश सरकारले जडान गरेका उपकरण अहिले काम नलाग्ने अवस्थामा पुगेका छन् ।

२ वर्ष नपुग्दै बिग्रिन थालेपछि मर्मतसम्भार गर्नसमेत हैरानी भएको राजमार्ग ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ । राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले बिग्रेका राडार मर्मत गर्न आवश्यक सामग्री छिमेकी मुलुक चीनबाट झिकाउनुपर्र्नेे भएकाले समस्या भएको जनाएको छ ।

गत पुसमा मधेस प्रदेशका सबै ठाउँमा बिग्रिएर बेवारिसे अवस्थामा रहेका राडार गन पछिल्लो समय महोत्तरी र सिराहामा मात्रै सञ्चालनमा छन् ।