२२ आश्विन २०८१, मंगलबार | Tue Oct 8 2024


दुई केजी सुन र चार केजी चाँदीसहित एकजना पक्राउ


0
Shares

चितवन, भदौ २० । चितवनको नारायणगढबाट दुई केजी ७६ ग्राम सुन र चार केजी ६१७ ग्राम चाँदीसहित एकजना पक्राउ परेका छन् ।

नारायणगढको न्यू गणेश सुनचाँदी पसलमा लुकाई राखिएको सुनचाँदी र नगद १२ लाख रुपैयाँ प्रहरीले बरामद गरेको हो । विशेष सूचनाका आधारमा ३ नं. प्रदेश प्रहरी कार्यालय हेटौंडाको क्षेत्रीय अनुसन्धान समूहबाट खटिएका प्रहरी निरीक्षक रोशन थापा नेतृत्वको विशेष टोली र जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक प्रभुप्रसाद ढकालको टोलीले मंगलबार सुनचाँदीसहित नगद बरामद गरेको हो ।

बरामद गरिएका सुनचाँदी र नगद बुधबार पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको छ । भरतपुर महानगरपालिका–१ पुतली बजारमा डेरा गरि बस्दै आएका २७ वर्षीय राजेन्द्र शिवाजी पाटिललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानबाट सो सुन र चाँदी तिब्बतसँग नाका जोडिएको रसुवाबाट अवैध रुपमा भित्र्याईएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी दिए । पक्राउ परेका पाटिलले केही परिमाणमा काँचो सुन बिक्री गरिसकेको र सो बिक्रीबाट प्राप्त नगद १२ लाख रुपैयाँ बरामद गरिएको एसपी राठौरले बताए ।

बरामद गरिएको सुनचाँदीको अनुमानित मूल्य एक करोड रुपैयाँ बराबर छ । विगत १० वर्षदेखि नारायणगढमा सुन बिक्री वितरण गर्ने रिफाईनिङ गर्ने काम गर्दै आएका पाटिललाई भदौ १८ गते एक भारतीय नागरिकले सो सुन ल्याईदिएको प्रहरी अनुसन्धानबाट खुलेको छ । प्रारम्भिक अुनसन्धान पश्चात बरामद गरिएका सुनचाँदी, नगद र पक्राउ गरिएका पाटिललाई भन्सार ऐन २०७४ अनुसार विस्तृत अुनसन्धान र कारवाहीका लागि राजश्व अनुसन्धान विभाग ललितपुर पठाईने जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए ।

चितवनमा माग अनुसार सुनचाँदी आपुर्ती नहुँदा पटक–पटक अवैध रुपमा भित्रिने गरेको गरेको छ । केही दिन अघि मात्र चितवनका सुनचाँदी व्यवसायीहरुले माग अनुसारको सुनचाँदी नपाएको भन्दै दुईदिन पसल ठप्प पारेका थिए ।