८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


इलाम नगरपालिकामा ‘थोत्रे’ दमकलः मर्मतमा चरम लापरवाही (भिडियो)


0
Shares

प्रकाश नेपाल/ईमेज

इलाम । आकस्मिक आगलागी नियन्त्रण गर्न र क्षति कम गर्न दमकल प्रयोग गरिन्छ ।

तर इलामको इलाम नगरपालिकाको दमकल पटकपटक बिग्रँदा आगलागी नियन्त्रण गर्न समस्या भइरहेको छ ।

गत आइतबार इलाम र पाँचथरको सीमामा पर्ने राँके बजारमा आगलागी भयो ।

आगलागी नियन्त्रणका लागि इलाम नगरपाललिकाको दमकल आकस्मिक बोलाइयो तर दमकल भने बाटोमै बिग्रियो ।

दमकल पुग्न नसकेपछि आगलागीबाट २ करोडभन्दा बढीको क्षति भएको छ ।

४ वर्षअघि खरिद गरिएको दमकलले आकस्मिक रुपमा सेवा दिन नसकेपछि इलामवासी चिन्तित छन् ।

तर चालक टेकबहादुर बस्नेत भने दमकलको इन्जिन तातेर बिग्रेको र मर्मतका लागि आफूहरुसँग आधुनिक प्रविधि नभएको बताउँछन् ।

यद्यपी, इलाममा आगलागीका कारण निस्किएको यो विवाद पहिलो पटक भने होइन ।

दमकलले सेवा दिन नसक्दा करिब ८ वर्षअघि इलामबजार ध्वस्त बनेको घटना आजपनि ताजै छ ।

यस्तै अन्य समयमा हुने गरेका सामान्य आगलागीमा पनि दमकलको उपस्थिति सशक्त हुन नसकेको स्थानीय बताउँछन् ।

जसका कारण आकस्मिक आगलागीमै प्रयोग हुने दमकल मर्मत् सम्भार गरी तयारीका साथ राख्नुपर्ने भएपनि नगरपालिकाको चरम लापरबाहीका कारण ठूलो क्षति भएको स्थानीयको गुनासो छ ।

उता, नगरपालिकाले भने दमकल संचालनकै लागि तीन जना कर्मचारी २४ सै घण्टा तयारी अवस्थामा राखेको जनाएको छ ।

दमकलका लागि नै नगरपालिकाले तलब खर्च र मर्मतका लागि बार्षिक २५ लाख रुपयाँको हाराहारीमा लगानी गरेर चुस्त दुरुस्त बनाएर राखेपनि राँकेको घटनामा भने पुग्न असफल भएकोे इलाम नगरपालिकाका सुचना अधिकारी राम कुमार साह स्वीकार्छन् ।

तर क्षति बेहोर्नेलाई भने यस्ता भनाइले खासै प्रभाव पार्न सकेको छैन  ।

आकस्मिक सेवा दिनुपर्ने यस्ता अति संवेदनशील विषयमा सजग हुन सके जनधनको क्षति कम हुनुका साथै सेवाग्राहीले पनि कुशल उद्धार र राहतको महसुश गर्ने थिए ।