काठमाडौं, भदौ १९ । नेपाल आयल निगमले अमेरिकी डलरको भाउ बढ्दा घाटा बढ्दै गएको जनाएको छ ।
भारतीय आयल निगमले बढाएको सेप्टेम्बर १ को मूल्यअनुसार निगमलाई मासिक ६४ करोड रुपैयाँ घाटा हुने देखिएको जनाइएको छ ।
निगमले मंगलबार पत्रकार सम्मेलन गरी स्वचालिन मूल्यअनुसार पेट्रोलियम पदार्थको भाउ बढाउने, घटाउने गरेको जनाएको छ ।
पछिल्लो मूल्यअनुसार निगमलाई पेट्रोलमा १ रुपैयाँ ११ पैसा, डिजेलमा २ रुपैयाँ ८४ पैसा र खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ३३१ रुपैयाँ ९१ पैसा घाटा रहेको जनाइएको छ ।
डिजेल र ग्यासको घाटालेमात्रै १५ दिनमा करिब ५८ करोड घाटा हुने देखिएको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए ।
निगमले २०७१ सालदेखि पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीअनुसार मूल्य समायोजन गर्दै आइरहेको जनाएको छ ।
निगमले सम्पूर्ण सरकारी राजश्व एवं मूल्य अभिवृद्धि करसहित पेट्रोलमा प्रतिलिटर ३८ रुपैयाँ ६० पैसा, डिजेलमा प्रतिलिटर २१ रुपैयाँ ४० पैसा, मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ ९८ पैसा, हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ १९ पैसा र ग्यास प्रतिसिलिन्डरमा २३१ रुपैयाँ ९९ पैसा सरकारलाई राजश्व बुझाउँदै आएको छ ।
निगमको सन्चालन खर्च प्रतिलिटर ६० पैसाभन्दा कम रहेको निगमले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्